विश्वव्यापी ईभी बजारमा मन्दीको संकेत

काठमाडौं । विश्वव्यापी रूपमा विद्युतीय सवारी (ईभी) को दर्ता गत वर्ष २० प्रतिशतले बढेको भए पनि २०२६ मा यसको वृद्धिदर सुस्तिने सम्भावना देखिएको छ । बुधबार सार्वजनिक तथ्यांकअनुसार चीनमा आएको मन्दी र विश्वभर विद्युतीकरण लक्ष्यहरू खुकुलो बनाइँदा डिसेम्बरमा बिक्री वृद्धिदर फेब्रुअरी २०२४ यताकै सबैभन्दा कम भएको हो ।

ब्याट्री–इलेक्ट्रिक र प्लग–इन हाइब्रिडसमेतका ईभीको मासिक दर्ता संख्या उत्तर अमेरिकामा अझै घटेको छ । अमेरिकामा ईभी कर छुट (ट्याक्स क्रेडिट) योजना अक्टोबरमा समाप्त भएपछि यस्तो गिरावट आएको परामर्शदाता संस्था बेन्चमार्क मिनरल इन्टेलिजेन्स (बीएमआई) ले जनाएको छ।

बीएमआईका डेटा म्यानेजर चार्ल्स लेस्टरका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विद्युतीकरण नीतिमा यू–टर्न र युरोपेली संघमा उत्सर्जन मापदण्ड खुकुलो पारिनुजस्ता आमूल नीतिगत परिवर्तनले २०२५ मा विश्व ईभी बजारलाई ‘झण्डै पहिचानै नहुने’  अवस्थासम्म हल्लाइदिएको छ ।

युरोपमा बढ्दो प्रतिस्पर्धा र चीनमा चिसिँदो मागका कारण सीओटू उत्सर्जन घटाउन विद्युतीकरण आवश्यक ठान्ने पक्ष र छिटो रूपान्तरणले रोजगारी र नाफामा खतरा ल्याउँछ भन्ने कार निर्माता कम्पनीहरूबीचको बहस अझ चर्किने सम्भावना छ ।

बिक्रीको सूचक मानिने विश्वव्यापी ईभी दर्ता संख्या डिसेम्बरमा ६ प्रतिशतले बढेर झण्डै २१ लाख पुगेको छ । सन् २०२५ मा कुल २ करोड ७ लाख ईभी दर्ता भएका छन् ।

चीनमा दर्ता संख्या २ प्रतिशतले बढेर १३ लाखभन्दा बढी पुगेको छ, जुन फेब्रुअरी २०२४ यताकै सबैभन्दा कम वार्षिक वृद्धिदर हो । यसले २०२५ मा कुल १२.९ मिलियन एकाइ पुग्दै १७ प्रतिशत वृद्धि देखाएको छ । विश्वभर बिक्री भएका ईभीमध्ये ७१ प्रतिशत चीनमै उत्पादन भएका हुन् ।

उत्तर अमेरिकामा अमेरिकी कर छुट अन्त्यसँगै अक्टोबर र नोभेम्बरजस्तै डिसेम्बरमा पनि गिरावट देखिँदै दर्ता संख्या ३९ प्रतिशतले घटेर करिब १ लाखमा सीमित भएको छ । समग्र २०२५ मा यो क्षेत्र ४ प्रतिशतले घटेको छ ।

युरोपमा डिसेम्बरमा ३४ प्रतिशतले बढेर ४.५ लाखभन्दा बढी दर्ता भएको छ भने वर्षभर ३३ प्रतिशत वृद्धि भएको छ । विश्वका अन्य क्षेत्रहरूमा डिसेम्बरमा ४१ प्रतिशतले बढेर १.६ लाखभन्दा बढी र २०२५ मा ४८ प्रतिशत वृद्धि भएको छ ।

बीएमआईका अनुसार यस वर्ष विश्वभर २ करोड ३९ लाख ईभी बिक्री हुने अपेक्षा छ, जुन १५.७ प्रतिशत वृद्धि हो । चीनमा वृद्धिदर तीव्र भएर २१ प्रतिशत पुग्ने, तर युरोप र विश्वका अन्य क्षेत्रमा क्रमशः १५ र २६ प्रतिशतमा सुस्तिने अनुमान गरिएको छ । अमेरिकामा २९ प्रतिशतको ठूलो गिरावटका कारण उत्तर अमेरिकामा कुल बिक्री २३ प्रतिशतले घट्ने पूर्वानुमान गरिएको छ ।

Share News