काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण तथा नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘८औँ नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको आयोजनामा एक्स्पो माघ २ देखि ४ गतेसम्म चितवन एक्स्पो सेन्टर, भरतपुरमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि प्रविधि, डेरी, पशुपालन, कृषि औजार, बीउ–बिजन, मल, कीटनाशक, फुड प्रोसेसिङ, कृषि यन्त्र, पशु स्वास्थ्य सेवा तथा वित्तीय समाधान प्रदान गर्ने कम्पनीहरूको सहभागिता रहनेछ ।
एक्स्पोले किसान तथा व्यवसायीलाई एउटै स्थानमा आधुनिक कृषि प्रविधिको अवलोकन र प्रत्यक्ष जानकारी लिन अवसर प्रदान गर्ने आयोजकको विश्वास छ । यो प्रदर्शनी केवल उत्पादन प्रदर्शनमा सीमित नरही कृषि क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र व्यवसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्मका रूपमा रहने बताइएको छ ।
विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि एक्स्पो उपयोगी हुने अपेक्षा गरिएको छ । एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।