काठमाडौं । वाणिज्य बैंकहरूले माघमा पनि ब्याजदर घटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
माघ महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर औसत ४.६८ प्रतिशतमा झरेको छ । जबकि पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.८६ प्रतिशत थियो ।
यस्तै, माघमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.०६ प्रतिशत घटेर ३.३८ प्रतिशतमा झरेको छ । यसअघि पुसमा संस्थागततर्फ औसत ३.३७ प्रतिशत ब्याजदर थियो ।
माघ महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ८ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, प्राइम बैंकले भने माघमा ब्याजदर बढाएको छ ।
कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र सानिमा बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
यस्तै, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।
प्राइम बैंकले माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत बढाएर ४.४० प्रतिशतमा पुर्याएको छ । जबकि पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो । तर, बैंकले संस्थागततर्फ भने ब्याजदर स्थिर राखेको छ ।
