काठमाडौं । उद्यमका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यका साथ पोखरामा मंगलबारदेखि उद्यम क्लिनिक सुरु गरिएको छ । पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा क्लिनिक सुरु गरिएको औपचारिक घोषणा गरेको हो ।
व्यवसायमा आउने समस्याको समाधानका लागि क्लिनिक सञ्चालन गरिने व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।
‘मानिसलाई रोग लागे उपचारको लागि अस्पताल लगिन्छ । व्यवसाय र उद्योगलाई रोग लागे के गर्ने भन्ने सन्दर्भमा उद्यम क्लिनिक स्थापना गरिएको हो । यसले उद्यमका क्षेत्रमा देखिएका अवरोध वा रोग हटाई त्यसलाई स्वस्थ बनाउने काम गर्दछ,’ उनले भने ।
अधिकारीका अनुसार उद्यममा देखिएका समस्याको सङ्कलन पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घमार्फत गरिन्छ भने त्यसको पहिचान र निराकरण विज्ञ समूहमार्फत गरिने छ । विज्ञ समूह ल्याउनका लागि पोखरा रिसर्च सेन्टरसँग सम्झौता गरिएको बताउँदै उद्यमका जुन विषयमा समस्या आएको छ त्यससँग सम्बन्धित विज्ञ सेन्टरले ल्याउने उनले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले उद्यम क्लिनिकले निजी क्षेत्रका समस्या समाधान र व्यावसायिक वातावरणमा सघाउने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखरा रिसर्च सेन्टरका सुजन रेग्मी, पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव शोभा गौतम लगायतले उद्यम क्षेत्रका समस्याको समाधानका लागि क्लिनिक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।