काठमाडौं । तोकिएको समयमा निर्माण सम्पन्न नभएका कञ्चनपुरका ४ वटा पुल ८ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि ८ वर्षसम्म निर्माण हुन नसकेका ४ वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेश कुमार यादवले जानकारी दिए ।
उनका अनुसार ३ पटक म्याद थप हुँदा निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल सम्पन्न भएर आवतजावत सुरु भएको छ । उक्त पुल निर्माणका लागि विसं २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्ने गरी थेगिम गाल्भा जेभीसँग ५ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
‘उक्त पुल निर्माण गर्न म्याद थप गरेको समयमा व्यवसायीले काम नगरेपछि हामीले १० प्रतिशत हर्जाना तिराएर यस पटक काम सम्पन्न गराएका छौँ,’ प्रमुख यादवले भने, ‘यसरी वर्षौदेखि अलपत्र परेका कञ्चनपुरका ४ वटा पुल निर्माण हामीले सम्पन्न गरेका छौँ ।’
सम्झौताको ९ वर्षपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुलीपर्सिया जोड्ने दोदा नदीको पुल निर्माण सम्पन्न भएको छ । उक्त पुल निर्माणका लागि विसं २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता अनुसार विसं २०७५ पुसभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको ९ वर्षपछि काम सकिएको प्रमुख यादवले बताए । ‘पुल निर्माण सकिएर परीक्षणको कार्य भइरहेको छ । २-३ दिनभित्रै उक्त काम सम्पन्न हुन्छ । पुलको फाउण्डेशनमा समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो,’ उनले भने ।
त्यसैगरी ५ पटक म्याद थप भएर निर्माण हुन नसकेको दोधारा चाँदनीस्थित मलेरिया नालामाथिको पुल हालै सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । उक्त पुल १८ महिनाभित्र सम्पन्न गर्ने गरी विसं २०७४ वैशाख १४ गते शङ्कर-माली एकेला जेभीसँग ४ करोड ६१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
त्यस्तै बेदकोट नगरपालिका-७ स्थित मुसेपानी खोलामाथि निर्माण गरिने पुलको पनि पाँच पटक म्याद थप भएको छ । विसं २०७४ जेठमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी राजेन्द्र-लुम्बिनी जेभीसँग १३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । डिभिजन प्रमुख यादवले भने, ‘समयमा काम नगर्ने निर्माण व्यवसायीलाई हर्जाना तिराएर समेत निर्माण सम्पन्न गरेका छौँ ।’