निर्माण व्यवसायीलाई पनि चुनाव लाग्यो, अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

जित्ने सम्भावना कसको बलियो ?

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । महासंघको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा, महासचिव रोशन दाहाल र सल्लाहकार तथा पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको हाे । 

माघ १५, १६ र १७ गते हुने महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहे पनि निर्वाचनको सम्भावना प्रबल देखिएको छ । हालसम्म अध्यक्षका कुनै पनि आकांक्षीले प्यानल घोषणा गरेका छैनन् ।

तीनै आकांक्षीले महासंघको निर्णय कुरिरहेका छन् । महासंघका वर्तमान महासचिव रोशन दाहालले आफ्नो लामो अनुभव र योगदानका आधारमा अध्यक्ष पदमा आफ्नो दावेदारी स्वाभाविक रहेको बताए । 

२०५३ सालदेखि निर्माण व्यवसायमा सक्रिय रहेका दाहालले काठमाडौं जिल्ला र काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको सचिव हुँदै तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उनी आर.डी. एण्ड निर्माण सेवाका प्रबन्ध निर्देशक हुन् । 

नेपाल निर्माण व्यवसायी महासंघमा एक कार्यकाल सह-कोषाध्यक्ष, दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल महासचिवको अनुभव उनीसँग छ ।

‘जिल्ला, प्रदेश र एसोसिएट साथीहरूको निरन्तर दबाब छ, सहमतिको बाटो समाउनुपर्छ,’ दाहालले भने, ‘सहमति कायम हुन्छ भने म जुनसुकै जिम्मेवारीमा पनि बस्न तयार छु, अध्यक्षमा मेराे दाबी रहनेछ ।’

उनले वर्तमान अध्यक्ष रवि सिंहले सकारात्मक भूमिका खेलेमा सहमति हुनसक्ने विश्वास व्यक्त गरे ।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष लामा पनि अध्यक्ष पदमा आफ्नो दाबेदारी रहेको बताउँछन् । ‘सहमतिको कुरा अन्तिम क्षणसम्म पनि खुला नै रहन्छ,’ लामाले भने,  ‘चुनाव हुने निश्चित छ, तर सहमति कायम गर्न हामी निरन्तर प्रयासरत छौं ।’

वरिष्ठता र अनुभवका आधारमा यस पटक नेतृत्वको पालो आफ्नो भएको उनको जिकिर छ । लामा सिभिल इन्जिनियर हुन् भने पी.एस. कन्स्ट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक समेत हुन् । यसअघि उनी उपाध्यक्ष थिए ।

पूर्ववरिष्ठ उपाध्यक्षपाण्डे पनि अध्यक्षकाे दाबेदारका रूपमा चर्चामा छन् । ‘मैले अझै अन्तिम निर्णय लिएको छैन,’ पाण्डेले भने, ‘तर अवस्था हेर्दा निर्विरोध चयन हुने सम्भावना देखिन्छ, सहमति नै हुनेजस्तो लाग्छ ।’ अबको तीन दिनभित्र यसको टुंगो लाग्ने उनले जानकारी दिए । 

अध्यक्ष बन्ने दौडमा रहेका पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेका छोरा समेत हुन् । 

९७२ जना प्रतिनिधिले गर्नेछन् मतदान

महाधिवेशनमा कुल ३२ हजार हाराहारीमा रहेका निर्माण व्यवसायी सदस्यमध्येबाट ९७२ जना प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधि छनोटको प्रक्रिया जिल्ला संघहरूबाट हुनेछ । महासंघले गत पुष ८ गतेसम्म जिल्ला संघका सदस्यहरूको नामावली छानबिन गरी विधानतः प्रतिनिधि संख्या किटान गरेर पठाइसकेको छ । 

महासंघका अनुसार मंगलबार (आज) राति १२ बजेसम्म जिल्ला संघहरूले आफ्नो प्रतिनिधिहरूको नामावली महासंघमा पठाइसक्नु पर्नेछ । छानिएका प्रतिनिधिहरूले नै महाधिवेशनमा मतदान गर्नेछन् ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने १५ औं महाधिवेशन तथा २६ औं साधारणसभामा महासंघका सात वटै प्रदेश र ७७ वटै जिल्लाबाट आउने प्रतिनिधिले केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्नेछन् । 

महाधिवेशनको कार्यतालिका अनुसार माघ १५ गते बन्द सत्र, १६ गते उम्मेद्वारी दर्ता र १७ गते निर्वाचन हुनेछ । 

यसपटकको महाधिवेशनमा व्यावसायिक क्षेत्रमा देखिएको संकट र त्यसलाई सम्बोधन गर्न सक्ने नेतृत्व चयनमा विशेष चासोका साथ हेरिएको छ । 

यद्यपि निर्वाचन आउन अझै १६ दिन बाँकी छ । यो छोटो समयमा वर्तमान अध्यक्ष रवि सिंह र पूर्वअध्यक्षहरू एकजुट भएर सहमतिको सूत्र खोजिरहेका छन् । उनीहरूको मुख्य चिन्ता भनेकै विभाजित नेतृत्वले सरकारसँग प्रभावकारी बार्गेनिङ गर्न सक्छ या सक्दैन भन्ने हो । 

Share News