काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्दै गर्दा विशेष महाधिवेशन पक्षधर नेताहरूले भने बैठक बहिस्कार गर्ने भएका छन्।
मंगलबार (आज) बिहान ११ बजेका लागि तय गरिएको बैठक समय व्यवस्थापनका कारण दिउँसो १ बजे बस्नेगरी सारिएको थियो । तर तोकिएको समयसम्म पनि बैठक सुरु हुन नसकेको केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले जानकारी दिए ।
उनका अनुसार बैठक ढिलाइ हुनुको कारणबारे औपचारिक जानकारी दिइएको छैन ।
केही नेताहरूले विशेष महाधिवेशन पक्षका नेताहरूसँग वार्ता चलेकोले बैठक समय पर सारिएको बताए । विशेष महाधिवेशन पक्षका नेताहरूलाई पर्खिँदा केन्द्रीय समिति बैठक बस्न ढिलो गरिएपनि उक्त पक्ष भने बैठकमा नजाने भएको छ ।
विशेष महाधिवेशन पक्षधर नेताहरू बैठकका लागि सानेपा नजाने निश्चित भएको नेता मनोजमणि आचार्यले जानकारी दिए ।
उनले भने, ‘महामन्त्रीसहित विशेष महाधिवेशन पक्षमा हस्ताक्षर गरेका केन्द्रीय सदस्यहरू सबै बन्दसत्र रहेकोले कोही पनि अहिले सानेपा जानुहुन्न ।’