मेन्छियाम हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५४ लाख २५ हजार ८३३ कित्ता सेयरले हुन आउने ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धनराज सुवेदी र निष्कासन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेन्द्र रायमाझीले हस्ताक्षर गरे ।

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चरसहित १९ वटा कम्पनीको आईपीओ र ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन कार्य सम्पन्न गरेको छ। 

उक्त निष्कासन तथा बिक्री प्रबन्ध सेवामार्फत कम्पनी हालसम्म १८ अर्ब ९४ करोडभन्दा बढी सेयर पुँजी रकम संकलन गर्न सफल भएको छ । 

यसैगरी, विभिन्न व्यक्ति तथा संस्थाहरूको नाममा रहेको २९ वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको सेयरको निष्काशन तथा बिक्री प्रबन्ध गरी करिब २ अर्ब रकम संकलन गर्न कम्पनी सफल भएको छ ।

साथै हाल क्यापिटलले दुईवटा कम्पनीको आईपीओ तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्कासन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा सेयर निष्कासनको लागि तयार गरेको विवरण पत्र पेश गरेको छ । 
 

Share News