काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आर्थिक वर्ष २०८१/०८२ को २९औं वार्षिक साधारणसभा मंगलबार (आज) सम्पन्न भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ५० करोड २ लाख ४८ हजार ५२३ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ८.५२ प्रतिशतले वृद्धि हो ।
त्यसैगरी, कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८३ कराेड ३२ लाख ९२ हजार ६१४ दाबी भुक्तानी गरेकोमा चालु आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ५१ लाख ५५ हजार २५५ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ । साथै सञ्चालक समितिको सिफारिसअनुसार सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सर्वसम्मत रूपमा पारित गरिएको छ ।
सभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलले सलिकोको व्यवसायिक प्रगति, वित्तीय अवस्था तथा आगामी कार्यदिशा बारे सेयरधनीहरूलाई विस्तृत जानकारी गराए । उनले चुनौतीपूर्ण बजार परिस्थितिका बीच पनि कम्पनीले सन्तुलित र दिगो वृद्धितर्फ अग्रसर भएको बताए ।
आगामी वर्षहरूमा पनि ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको विश्वास दिलाउँदै उनले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा थप जोड दिइने बताए ।