काठमाडौं । कोशी प्रदेश र चितवनबीच पर्यटन विकास, प्रवर्धन तथा सहकार्यलाई अघि बढाउने उद्देश्यले मंगलबार छलफल सम्पन्न भएको छ । चितवनको नारायणगढमा सम्पन्न उक्त छलफल कोशी प्रदेश पर्यटन वर्ष २०८२ र चितवनका पर्यटन सरोकारवाला व्यवसायी सङ्गठनहरूबीच भएको हो ।
छलफलमा बागमती प्रदेशको दक्षिणी क्षेत्र र कोशी प्रदेशबीच ‘डाइभर्सिटी टुरिजम’ का सम्भावनाबारे विचार–विमर्श गरिएको थियो । साथै, दुई क्षेत्रबीच पर्यटन सहकार्य र अनुभव आदानप्रदान गर्ने विषयमा अनौपचारिक सहमति समेत भएको छ ।
कार्यक्रममा होटल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले दुवै क्षेत्रबीच पर्यटनका अथाह सम्भावना रहेको उल्लेख गर्दै सहकार्यका माध्यमबाट दुबै पक्षले ठोस उपलब्धि हासिल गर्न सक्ने बताए । उनले भरतपुर भ्रमण वर्ष २०२४ को अनुभव कोशी प्रदेश पर्यटन वर्ष २०८२ का लागि अनुकरणीय हुने धारणा राखे ।
त्यसैगरी, चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले पर्यटकप्रति गरिने व्यवहारले पर्यटन व्यवसायको सफलता निर्धारण गर्ने बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटनविद् डा. विश्व सुवेदीले भरतपुर भ्रमण वर्षको अनुभव प्रस्तुत गर्दै चितवन र कोशी प्रदेशबीच धार्मिक, पर्यावरणीय, पर्या–पर्यटन, हिमाली पर्यटन, पदमार्ग, जङ्गल तथा जल पर्यटनमा सहकार्य र व्यवसाय आदानप्रदानका व्यापक सम्भावना रहेको बताए ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारा कार्की, सुमन घिमिरे, ओम पाण्डे, गोपाल भट्टराई, बसन्त पराजुली र ऋषिकेश अर्याललगायतले दुई पक्षबीच रहेका सम्भावनाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा पर्यटन वर्ष समितिका सहसंयोजक भविष्यकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सदस्य राजन दङ्गालले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ का लागि औपचारिक निमन्त्रणासमेत प्रदान गरिएको थियो ।