अमेरिकाको ब्रुमफिल्ड सहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध कायम

ललितपुर । ललितपुर महानगरपालिका र अमेरिकाको कोलोराडो राज्यमा अवस्थित ब्रुमफिल्ड सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । दुवै सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा भएको समझदारीपत्र (एमओयू) मा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड सहरकी मेयर गाइलिन क्याट्रिओटाले हस्ताक्षर गरेका हुन् ।

महानगर प्रमुख महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा वडा नं. १३ का वडाध्यक्ष गणेश केसी पनि सहभागी थिए । कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले कला, संस्कृति र सम्पदाको सहर ललितपुरले अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध गाँस्नु महत्वपूर्ण उपलब्धि भएको बताए । यस सम्बन्धले ललितपुर महानगर मात्र नभई समग्र नेपालको छविलाई अन्तर्राष्ट्रिय रूपमा थप उचाइ दिने विश्वास उनले व्यक्त गरे ।

भगिनी सम्बन्धलाई मितेरी सम्बन्धको रूपमा व्याख्या गर्दै प्रमुख महर्जनले भने, 'अब हामी एक–अर्काका नजिकका साथी भयौँ । दुःख–सुख साटासाट गर्नेछौँ ।' उनले ब्रुमफिल्ड सहरका असल अभ्यासहरू ललितपुरमा अनुकरण गर्ने र ललितपुरको कला, संस्कृति तथा सम्पदाबाट ब्रुमफिल्डले पनि धेरै कुरा सिक्न सक्ने बताए । मित्रताको प्रतीकस्वरूप ब्रुमफिल्ड सहरमा कलात्मक मन्दिर वा फल्चा निर्माण गर्न सकिने प्रस्ताव पनि उनले अघि सारे ।

ब्रुमफिल्ड सहरकी मेयर गाइलिन क्याट्रिओटाले सुन्दर नेपालको कला र संस्कृतिले सम्पन्न सहरसँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताइन् । उनले ललितपुर महानगरको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यसअघि ललितपुर महानगरपालिकाले दक्षिण कोरियाको चेओरवन र रुसको उलान उदे सहरसँग अन्तर्राष्ट्रिय भगिनी सम्बन्ध कायम गरिसकेको छ । साथै, देशभित्र सल्यानको शारदा नगरपालिका, संखुवासभाको चैनपुर नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, गुल्मीको मालिका गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र दोलखाको भीमेश्वर नगरपालिकासँग पनि भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।

Share News