सुनको मूल्य तोलामा दुई लाख ७६ हजार ५०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको  हो । मंगलबार सुनको मूल्य तोलामा १८ सय र चाँदीको मूल्य तोलामा १४५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० कायम भएको छ ।
 
गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार  तोलामा चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको एक तोला चाँदी हिजो पाँच हजार १९५ रुपैयाँमा किनबेच भएको थियो ।

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन् । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५८८ र त्यति नै परिमाणको सेतो धातु ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

Share News