काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा पछिल्लो समय ठूलो उतारचढाव देखिँदै आएको छ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वोइन पनि यसबाट अछुतो रहन सकेको छैन । गत वर्ष अक्टोबरमा बिटक्वोइन १ लाख २५ हजार अमेरिकी डलर पार गर्दै ऐतिहासिक उच्च स्तरमा पुगेको थियो । तर त्यसपछि यसको मूल्य क्रमशः घट्दै आएको छ । हालसम्म बिटक्वाइन आफ्नो उच्चतम स्तरबाट करिब २८ प्रतिशतभन्दा बढी घटिसकेको छ ।
यद्यपि, उद्योगका ठूला अधिकारी तथा लगानीकर्ताहरूले सन् २०२६ सम्म बिटक्वाइन नयाँ उचाइमा पुग्न सक्ने बताएका छन् । तर त्यससँगै तीव्र उतार–चढावको जोखिम पनि कायमै रहने उनीहरूको भनाइ छ ।
सीएनबीसीको बिटकोइन फोरकास्ट रिपोर्टअनुसार सन् २०२६ का लागि विभिन्न विज्ञहरूले बिटकोइनको मूल्य निकै फराकिलो दायरामा रहने अनुमान गरेका छन् । केहीका अनुसार बिटकोइन ७५ हजार डलरसम्म झर्न सक्छ भने केहीले यसलाई २ लाख २५ हजार डलरसम्म पुग्ने देखेका छन् । यसको अर्थ सन् २०२६ मा हालको मूल्यको तुलनामा बिटकोइन १५० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ । आज बिटकोइन ९२ हजार ४४ डलरमा कारोबार भइरहेको छ ।
गत वर्ष अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा क्रिप्टो बजारले तुलनात्मक रूपमा अनुकूल नियामक वातावरणको लाभ पाएको थियो । साथै ठूला संस्थागत लगानीकर्ता र बैंकजस्ता परम्परागत वित्तीय संस्थाहरूको रुचि पनि बढेको थियो । यही क्रममा डिजिटल एसेट ट्रेजरी (डीएटी) कम्पनीहरूको प्रभाव बढेको देखियो । यी कम्पनीहरूले ठूलो मात्रामा बिटकोइन र अन्य डिजिटल सिक्का सञ्चित गर्छन् ।
अर्कोतर्फ प्रविधि कम्पनीका सेयर मूल्यांकनलाई लिएर बहस चलिरहेको छ। साथै कृत्रिम बौद्धिकता (एआई) को बूम कतै ‘बबल’ त होइन भन्ने प्रश्न पनि उठिरहेको छ । यी सबै कारणले वर्षको अन्त्यतिर क्रिप्टो बजारमा बिक्री हावी देखियो । लगानीकर्ताहरूले जोखिमयुक्त सम्पत्तिको पुनर्मूल्यांकन गर्दा र क्रिप्टो धारकहरूले आफ्ना डिजिटल सिक्का बेच्दा बिक्री हावी दबाबपूर्ण भयो, जसले मूल्य झनै घटायो । यी सबै कारणले सन् २०२६ का लागि चुनौतीपूर्ण अवस्था सिर्जना भएको देखिन्छ ।
क्यारोल अलेक्जेन्डर : ७५ हजार डलरदेखि १ लाख ५० हजार डलरसम्म
युनिभर्सिटी अफ ससेक्सकी फाइनान्स प्रोफेसर क्यारोल अलेक्जेन्डरका अनुसार सन् २०२६ मा बिटकोइन ७५ हजार डलरदेखि १ लाख ५० हजार डलरको दायरामा रहन सक्छ । पछिल्ला केही वर्षमा उनका बिटकोइनसम्बन्धी अनुमानहरू धेरै हदसम्म सही सावित भएका छन् । उनले सन् २०२५ को गर्मी सम्म बिटकोइन करिब १ लाख ५० हजार डलर वरिपरि (५० हजार डलर तल–माथि) कारोबार हुन सक्ने बताएका थिए, जुन अनुमान सही देखियो ।
कोइनशेयर्स : १ लाख २० हजार डलरदेखि १ लाख ७० हजार डलरसम्म
क्रिप्टो–केन्द्रित एसेट म्यानेजर कोइनशेयर्सका रिसर्च प्रमुख जेम्स बटरफिलका अनुसार सन् २०२६ मा बिटकोइन १ लाख २० हजार डलरदेखि १ लाख ७० हजार डलरको दायरामा रहन सक्छ । उनका अनुसार वर्षको दोस्रो भागमा मूल्य वृद्धिको सम्भावना बढी देखिन्छ । डिसेम्बर २०२४ मा बटरफिलले बिटकोइन सन् २०२५ मा करिब ८० हजार डलरसम्म झर्न सक्ने अनुमान गरेका थिए, जुन सही सावित भयो ।
बिट माइनिङ : ७५ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म
बिट माइनिङका प्रमुख अर्थशास्त्री यूवेई याङले पनि बिटकोइनमा निरन्तर अस्थिरता रहने बताएका छन् । उनका अनुसार सन् २०२६ मा बिटकोइन ७५ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्मको फराकिलो दायरामा कारोबार हुन सक्छ । याङका अनुसार सन् २०२६ बिटकोइनका लागि बलियो वर्ष हुन सक्छ । डिसेम्बर २०२४ मा उनले सन् २०२५ मा बिटकोइन करिब ८० हजार डलरसम्म झर्न सक्ने अनुमान गरेका थिए, जुन आंशिक रूपमा सही देखिएको थियो ।