काठमाडौं। निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतापत्रमा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिकाराज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशी ले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा चार्टर्ड एकाउन्टेन्ट अनिल पौडेल को समेत उपस्थिति रहेको थियो ।
नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकला झल्किने यस चारतारे होटलले जारी पुँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवामार्फत फरक पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । होटल परिसरबाट हिमाल, काठमाडौं, भक्तपुर तथा ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने विशेष भ्यु टावर रहेकोले यसले विशिष्ट पहिचान बनाउने विश्वास व्यक्त गरिएको छ ।
परियोजनामार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
सञ्चालनको अन्तिम चरणमा रहेको यस होटलमा ६८ वटा प्रिमियम कोठा (सुइटसहित), तीनवटा बैंक्वेट हल, तीनवटा रेस्टुरेन्ट, बार, पौडी पोखरी, स्पा, जिम, ध्यान कक्ष, कफी शप, सङ्गीत क्लबलगायत विभिन्न विश्वस्तरीय सुविधा रहनेछन् । साथै, भविष्यमा उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि दीर्घकालीन रणनीतिमा समावेश गरिएको छ ।
आईपीओ निष्कासनपछि निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना रहेको कम्पनीका अध्यक्ष बरालले जानकारी दिए ।
कम्पनीका संस्थापक तथा प्रवर्द्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवसायीहरूको संलग्नता रहेको छ । होटल सञ्चालनतर्फ २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्वमा सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
करिब १ अर्ब रुपैयाँ लगानी रहेको यो होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने कम्पनीको भनाइ छ । साथै, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको जनाएको छ ।