नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी, पूर्वसीईओ शाह बने सञ्चालक

काठमाडौं । नबिल बैंकको अध्यक्षमा निर्वाणकुमार चौधरी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले चौधरीलाई अध्यक्षमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहणपश्चात चौधरीले अध्यक्षको कार्यभार सम्हाल्ने छन् । 

यस्तै, सोमबार सम्पन्न ४१औं वार्षिक साधारणसभाबाट बैंकको सञ्चाकलमा अनिल केशरी शाह निर्विरोध निर्वाचित भएका छन् । उनी संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका हुन् । शाह नबिल बैंककै पूर्वसीईओसमेत हुन् ।

null

नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह

साथै बैंकको साधारण सभाबाट गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । निवर्तमान अध्यक्ष पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

उनले विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) का साथै मर्जर सफल बनाउनका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

null

निर्वाण चाैधरी 

चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले ५ अर्ब रुपैयाँको अंकित मूल्य १०० रुपैयाँका दरले ५ करोड कित्ता बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ ।

नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

Share News