काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकको वर्तमान राजनीतिक अन्योल र अनिश्चितताको अवस्थामा रहेको उल्लेख गर्दै पार्टीभित्र पूर्ण एकता आवश्यक रहेको बताएका छन् ।
उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई आपसी मतभेद र गुटगत सोंच त्याग्दै संगठन सुदृढीकरणमा जुट्नसमेत आग्रह गरेका छन् ।
खड्काले पछिल्लो समय देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बताए ।
राजनीतिक स्थिरता कमजोर हुँदै गएको, सरकार परिवर्तनको सम्भावना बारम्बार देखिनु र जनतामा निराशा बढ्नुले लोकतान्त्रिक शक्तिहरूबीच बलियो समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
यस्तो अवस्थामा नेपाली कांग्रेसले जिम्मेवार र एकताबद्ध भूमिका खेल्नुपर्नेमा उनको जोड छ।
कार्यवाहक सभापति खड्काले पार्टीभित्र देखिने आन्तरिक असहमति स्वाभाविक भए पनि त्यसलाई संस्थागत ढंगले समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।
‘विचारको विविधता हाम्रो शक्ति हो, तर विभाजन हाम्रो कमजोरी बन्छ,’ उनले भने, ‘पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन ।’
खड्काले आगामी बैशाख अन्तिम साता हुने १५ औं महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्ने अवस्था रहेको बताउँदै सबैलाई संयमता कायम राख्न पनि आग्रह गरेका छन् ।
