काठमाडौं । मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) को सदस्य राष्ट्रका रूपमा नेपालले सन् २०२४ का लागि बुझाउनुपर्ने वार्षिक योगदानस्वरूप २ लाख ८३ हजार ५ सय ३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
त्यसैगरी, आर्थिक प्रणालीलाई सुदृढ र आधुनिक बनाउने लक्ष्यसहित वित्तीय क्षेत्र विकास रणनीति (२०८२/८३ देखि २०८६/८७) स्वीकृत गर्ने निर्णय भएको छ ।
त्यस्तै, सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगोडाको अभिलेखालय तथा गङ्गा घाट मन्दिर पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने पनि निर्णय भएको छ ।
त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत गरिएको छ ।
गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुर निवासी गोविन्दप्रसाद भण्डारीलाई तोक्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिए ।
आगामी माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्ने गरी संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ ।