काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार चितवनको सौराहामा सम्पन्न भएको छ । कम्पनीको साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित भएको हो ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरेको छ । साथै, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।
बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी २ अर्ब ५ करोड ५१ लाख १४ हजार रुपैयाँ पुगेको छ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष दीपक खनालको अध्यक्षतामा सम्पन्न सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि सेयरधनीहरूले उठाएका जिज्ञासाहरूको अध्यक्षले स्पष्टिकरण गरेका थिए । सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।
सभाबाट संस्थापक समूहको तर्फबाट नेपाल बैंक लिमिटेडका प्रतिनिधि प्रदीप कुमार पाठक र सर्वसाधारण समूहको तर्फबाट शिवप्रसाद भट्टराई, आयुषी सापकोटा तथा पुष्करनाथ भण्डारी सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।