मतदाताले ‘ग्रिन सिग्नल’ दिएपछि ओलीसँग चुनाव लड्न बालेन तयार, माघ ५ गतेभित्र मेयरबाट राजीनामा दिँदै

यस्तो छ आन्तरिक गृहकार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी माघ ५ गतेभित्र राजीनामा दिएर चुनावको तयारी गर्ने योजनामा रहेको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएर वरिष्ठ नेता बनेका उनले मेयर पदबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका रूपमा प्रचारप्रसारमा जाने तयारी गरेका हुन् । 

बालेनको सचिवालयका एक सदस्यका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने योजनाका साथ उनले मेयर पदबाट राजीनामा दिँदैछन् । निवर्तमान आयोगले उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकेको छ । त्यसअघि नै मेयरबाट राजीनामा दिएर उनी उम्मेदवार बन्न लागेका हुन् । 

बालेनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । रास्वपासँग सम्झौता गर्दै उनी पार्टी प्रवेश गरेका हुन् । तथापि रास्वपा र उनीबीच औपचारिक एकता तथा समाहित सभा भने भएको छैन । रास्वपा र बालेनबीच मेयर पदबाट राजीनामा दिएपछि समाहित सभा घोषणा गरेर औपचारिक जानकारी दिने तयारी भइरहेको बालेनको सचिवालयले जानकारी दिएको छ । 

बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । बालेन पनि झापा–५ बाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यसका लागि उनले आइतबार झापाका रास्वपाका नेताहरूसँग डेढ घण्टा छलफल गरेका थिए । उनले ललितपुरको ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग छलफल गरेको बुझिएको छ । 

उनीहरूसँग बालेनले झापा–५ को वस्तुस्थिति, त्यहाँका मतदाताको अपेक्षा र मनस्थिति र पुराना पार्टीप्रतिको बुझाइ लगायत विषयमा कुराकानी गरेका थिए । बालेनले पार्टीका नेताहरूसँग छलफल गरेपछि आइतबार साँझ त्यसको संकेत पनि दिएका छन् । उनले भनेका छन्, ‘शुभकामना सबैलाई, हामी आउँदैछौं ।’

बालेनले झापा–५ का लागि आफूले जित्ने नजित्ने विषयमा सर्वेक्षण पनि गर्न लगाएका छन् । सर्वेक्षण केही सकारात्मक देखिएपछि उनी त्यहीँबाट चुनाव लड्ने तयारीमा जुटेका हुन् । 

Share News