काठमाडौं । नेपालको इन्धन बजारमा निजी तथा सुरक्षा निकायद्वारा सञ्चालित पेट्रोल पम्पहरूको दबदबा देखिएको छ । गत आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कअनुसार मुलुकका विभिन्न पेट्रोल पम्पहरूले अर्बौं रुपैयाँको कारोबार गरेका छन् ।
नेपाल आयल निगमको बिक्री तथ्याङ्कअनुसार धादिङको एक पेट्रोल पम्पले देशभरका पम्पहरूलाई उछिन्दै पहिलो स्थान सुरक्षित गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
निगमको तथ्याङ्कअनुसार बिक्री रकमका आधारमा धादिङको भैरवी इन्टरप्राइजेज सबैभन्दा अगाडि छ । यसले गत वर्ष १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।
दोस्रो स्थानमा चितवनको नारायणगढस्थित कैलाश आयल डिष्ट्रिब्युटर्स प्रालि रहेको छ, जसले १ अर्ब ४५ करोड रुपैयाँको कारोबार गरेको छ । यस्तै, सुरक्षा निकायद्वारा सञ्चालित पम्पहरू पनि उच्च कारोबार गर्ने सूचीमा परेका छन् ।
काठमाडौंको समाखुसीस्थित प्रहरी वेलफेयर फन्ड १ अर्ब ४१ करोडको कारोबारसहित तेस्रो र भद्रकालीस्थित नेपाली सेनाको रिपुमर्दिनी पेट्रोल स्टेशन १ अर्ब २९ करोडको कारोबारसहित चौंथो स्थानमा रहेका छन् । सहकारी क्षेत्रबाट साझा सेवा पुल्चोकले १ अर्ब २५ करोडको व्यापार गर्दै आफ्नो सशक्त उपस्थिति जनाएको छ ।
नेपालको पेट्रोलियम व्यवसायमा निजी क्षेत्रसँगै नेपाल प्रहरी, नेपाली सेना र साझा सेवा जस्ता संस्थाहरूको भूमिका प्रभावकारी देखिएको छ । अर्विन्द एम्पोरियम, भक्तपुर फ्युल सेन्टर र साझा पेट्रोल पम्पहरूले पनि ९३ करोडदेखि ९९ करोड रुपैयाँसम्मको कारोबार गर्दै अर्बको क्लबमा पुग्ने जमर्को गरेका छन् ।
निगमका अनुसार पम्पहरूले पेट्रोल बिक्रीमा ६ प्रतिशत र डिजेल बिक्रीमा ४.९ प्रतिशत कमिशन प्राप्त गर्छन् । यसै कमिशनबाट ढुवानी, बीमा, वर्किङ लस र अन्य खर्च कटाएर पम्पहरूले खुद नाफा निकाल्ने गर्छन् ।
गत आवमा सबैभन्दा बढी नाफा कमाउनेमा पनि धादिङको भैरबी इन्टरप्राइजेज नै अगाडि छ । जसले ९ करोड २६ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
निगमले भने गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
कुन पम्पको नाफा कति ?

जोखिम बढेपछि पेट्रोल पम्पमा निगमको कडाइ, ३७ मध्ये २ वटामात्रै छनोट