कामना सेवा विकास बैंकद्वारा बुटवल क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुटवल क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले भैरहवा र मणिग्राम शाखामार्फत समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गरेको हो ।

यस अन्तर्गत भैरहवा शाखाद्वारा लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड प्रदान गरियो भने मणिग्राम शाखाबाट शान्ति नमुना माध्यमिक विद्यालयका बालबालिकालाई जाडोयाम लक्षित न्यानो कपडा वितरण गरिएको छ । उक्त सामग्री बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका अवसरमा आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीन अनाथ बालबालिका र आर्थिक रूपमा कमजोर बालबालिकाहरूका लागि बैंकले योगदान दिन पाएकोमा खुशी व्यक्त गरे । सहयोग प्राप्त संस्थाहरूले बैंकको यस मानवीय पहलप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रममा बैंकका कर्मचारी, सम्बन्धित संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो ।

बैंकले आगामी दिनमा पनि सरोकारवालासँग समन्वय गर्दै यस्ता सामाजिक कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।  

Share News