सिद्धार्थ बैंकको सीईओमा रामेश्वरप्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले बस्याललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

गत मंसिर २६ गते तत्कालीन सीईओ सुन्दरप्रसाद कँडेलको कार्यकाल सकिएपछि नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका बस्याललाई कायम मुकायम (कामु) सीईओको जिम्मेवारी दिइएको थियो । बैंक सञ्चालक समितिले पुस २५ गतेदेखि लागू हुने गरी बस्याल औपचारिक रूपमा सीईओ नियुक्त गरेको हो ।

साढे तीन दशकभन्दा बढी बैंकिङ अनुभव हासिल गरेका बस्यालले सन् १९८९ बाट आफ्नो करिअर सुरु गरेका हुन् । उनले नबिल बैंकमा विभिन्न व्यवस्थापकीय तहमा रही सञ्चालन, मार्केटिङ, कर्जा तथा शाखा व्यवस्थापनका क्षेत्रमा काम गरेको अनुभव हासिल गरेका छन् ।

त्यसैगरी, प्रत्यक्ष व्यवसायतर्फ एसएमई तथा कन्ज्युमर बैंकिङ, वस्तु तथा सेवाहरूको उच्चस्तरीय ब्रान्डिङ तथा प्रवर्द्धनका लागि कर्पोरेट अफेयर्सका साथै निक्षेप व्यवस्थापनमा समेत उनको उल्लेखनीय अनुभव रहेको छ ।

सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध बस्याल प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृत हुँदै हाल प्रमुख कार्यकारी अधिकृत पदमा पुगेका हुन् ।

Share News