काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गर्दै नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लु वृद्धिले यसको अझ उन्नत संस्करण दिपल ई०७ ट्रान्सफर्मर एक्स सार्वजनिक गर्ने तयारी गरेको छ ।
गत वर्ष एक बटन थिच्नेबित्तिकै प्रिमियम एसयुभीबाट पिकअपमा रुपान्तरण हुन सक्ने अद्वितीय क्षमताका कारण चर्चामा आएको ई०७ ले एसयुभीको परिभाषा नै बदलिदिएको थियो । अब ट्रान्सफर्मर एक्सले सोही नवप्रवर्तनलाई थप उचाइमा पुर्याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापित गर्ने एमएडब्लु वृद्धिको दाबी छ ।
नयाँ दिपल ई०७ ट्रान्सफर्मर एक्समा एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम समावेश गरिएको छ, जसले ‘म्याजिक कार्पेट’ जस्तो सहज यात्राको अनुभव दिने बताइएको छ । यसमा निरन्तर ड्याम्पिङ कन्ट्रोल (सीडीएस), अधिकतम २२३ एमएमसम्म समायोजन गर्न सकिने ग्राउन्ड क्लेरेन्स तथा राजमार्ग र कठिन भूभागका लागि छुट्टाछुट्टै ड्राइभिङ मोड उपलब्ध छन् । यी विशेषताले नेपालका विविध सडक अवस्थामासमेत उत्कृष्ट कम्फर्ट र स्थिर ह्यान्डलिङ सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।
लक्जरी अनुभवलाई थप उचाइमा पुर्याउन नयाँ ई०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिटको व्यवस्था गरिएको छ । प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४–वे पावर एड्जस्टेबल फ्रन्ट सिट तथा लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोडले यसलाई ‘फर्स्ट क्लास’ यात्राको अनुभूति दिने बनाएको छ ।
पछाडिका यात्रुका लागि पनि छुट्टै स्तरको सुविधा उपलब्ध गराइएको छ । रियर सिटबाटै ट्रंक र रियर डोम सञ्चालन, सिट हिटिङ र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिङ एड्जस्टमेन्टका साथै छुट्टै रियर सिट फोल्डिङ कन्ट्रोल सिस्टम दिइएको छ, जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमाण्ड जोनमा रुपान्तरण गर्छ ।
यी सबै अत्याधुनिक सुविधा र प्रविधिका कारण दिपल ई०७ ट्रान्सफर्मर एक्स अहिलेसम्मकै सबैभन्दा उन्नत र ग्राउन्ड ब्रेकिङ इभीका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।