जीवन कसरी जीउने ? धेरैको साझा प्रश्न हो यो । जीवा लामिछानेलाई नियाल्नुपर्छ, उनलाई पछ्याउने धेरै आधार छन् । सामान्य पारिवारिक पृष्ठभूमि, औसत प्रतिभा तर उत्कृष्ट जीवनशैली । उनले आफ्नो कर्ममा जोडबल लगाएर व्यवसायमा सफलता चुमेका छन् । संसार घुम्ने, नियाल्ने र बुझ्ने प्रयास गरेका छन् । साहित्य सिर्जना, समाजसेवा र देशप्रेममा खुलेर अगाडि बढेका छन् । परिवार, समाज, देश र विदेशमा समेत सम्मान भावका साथ माया पाएका छन् ।
एउटा किसानको छोरो विकसित मुलुकहरूका उद्यमी व्यवसायीहरूसँग प्रतिस्पर्धा गरेर व्यवसाय विस्तार गर्नु सामान्य कुरा थिएन । स्वदेश र विदेशमा गरी दर्जनौं कम्पनी सफलतापूर्वक सञ्चालन गर्नु धेरैका लागि उत्प्रेरणा, हिम्मत र हौसला बन्न सक्छ । तिनै प्रेरणाका पात्र हुन्, जीवा लामिछाने ।

सन् १९६७ मा चितवनको पदमपुरमा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका लामिछानेले युरोपेली देशका सुविधासम्पन्न सहरमा बसेर व्यवसाय विस्तार गरे । त्यहाँका व्यवसायीहरूसँग प्रतिस्पर्धा गरे । विदेशी भूमिमा रहेका नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ स्थापना गर्न भूमिका खेले । त्यही संघको नेतृत्व गरे । त्यही संघको मद्दतमा धेरै नेपालीलाई व्यवसायमा जोडे । अधिकांशलाई आफ्नै कम्पनीमा रोजगारी दिए । कर्मचारीलाई साझेदार बनाएर विदेशी भूमिमा व्यवसायको बीजारोपण गराए ।
जीवाले युरोपेली देशका सुविधासम्पन्न सहरमा बसेर व्यवसाय विस्तार गरे । त्यहाँका व्यवसायीहरूसँग प्रतिस्पर्धा गरे । विदेशी भूमिमा रहेका नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ स्थापना गर्न भूमिका खेले । त्यही संघको नेतृत्व गरे । त्यही संघको मद्दतमा धेरै नेपालीलाई व्यवसायमा जोडे । धेरैलाई आफ्नै कम्पनीमा रोजगारी दिए । कर्मचारीलाई साझेदार बनाएर विदेशी भूमिमा व्यवसायको बीजारोपण गराए ।
पछिल्लो समय लामिछाने आफ्नो व्यवसायमा मनिटरिङ गर्ने काम मात्रै गरिरहेका छन् । सबै काम उनको टिमले गर्छ । ‘मैले मसँग काम गर्ने सहकर्मीहरूलाई व्यवसायमा साझेदार बनाएको छु, त्यसले उनीहरूलाई कम्पनीमाथि अपनत्वको महसुस हुन्छ, काम गर्न उत्प्रेरित गर्छ,’ उनी भन्छन्, ‘अहिले व्यवसाय सञ्चालनको जिम्मा नै उनीहरूमाथि छ ।’

२० वर्षको उमेरमा विदेशी भूमिमा पुगेर २५ वर्षको उमेर रसियामा व्यवसायको सुरुवात गर्नु कैयौं युवाहरूका लागि प्रेरणा हुन सक्छ । सन् १९९१ मा त्यतिबेलाको महाशक्ति राष्ट्र सोभियत संघको विघटनसँगै रुसमा खुला बजार अर्थतन्त्रको सुरुवात भएको अवसरलाई व्यावसायिक योजनाका रूपमा अगाडि बढाउँदै लामिछानेले सोही वर्ष ग्रोसरी पसल र क्याफे चलाए । क्याफेमा नेपालीहरूसँग मिलेर उनी मःम बेच्थे । तर, त्यसले अपेक्षाकृत नतिजा दिन सकेन । उनले कामसँगै पढाइ जारी राखे । सन् १९९२ मा सिभिल इन्जिनियरिङको औपचारिक पढाइ सके ।
‘डिग्री लिएपछि थप जिम्मेवारी बोध गरें र नयाँ सम्भावनाका क्षेत्रको खोजीमा लागें । अब मसँग दुई विकल्प थिए, एउटा पढाइ सकिएकोले नेपाल फर्किने अनि अर्को, यतै व्यवसाय गर्ने । मैले दोस्रो विकल्प रोजें,’ व्यवसाय सुरुवात गर्दाका दिनहरू स्मरण गर्दै लामिछाने भन्छन्, ‘अवसरलाई आफ्नो हातमा लिएँ, व्यवसायमा सफलता पनि मिल्यो । त्यतिखेर सही निर्णय लिएको रहेछु भन्ने अहिले बोध भएको छ ।’
लामिछानेले रुसमै विद्युतीय उपकरण बिक्री गर्न सुरु गरे । कम्पनीको नाम थियो क्रिस्टल एलएलसी । त्यस कम्पनीले मस्कोमा सोनी, पानासोनिक, जेभीसी, क्यानन, निकोन र अन्य ब्राण्डका विद्युतीय सामानहरूको आधिकारिक बिक्रेताको काम गर्थ्यो । उनको कम्पनीले टीभी, कम्प्युटर, होम अप्लायन्स तथा म्युजिकल सामानहरू बिक्री गर्थ्यो । त्यो व्यापारसँगै लामिछानेको व्यावसायिक जीवनले फड्को मार्यो । त्यसपछि उनले व्यवसायमा पछाडि फर्किनु परेको छैन ।

‘मलाई त्यो दृश्य अहिले पनि ताजै लाग्छ, हामी १० बजे स्टोर खोल्दा ग्राहकहरू अगाडि नै आएर सामानका लागि लाइन लागिसकेका हुन्थे । युक्रेन, जर्जिया, बेलारुस लगायतका देशहरूमा सामान निर्यात पनि गर्थ्यो,’ लामिछानेले विगत स्मरण गर्दै भने ।
विद्युतीय सामान बिक्रीले व्यावसायिक जग बसाले पनि जीवा लामिछानेलाई देश–विदेशमा परिचित गराउने व्यवसाय भने हस्पिटालिटी क्षेत्र बन्यो । उनले अहिले पाँच दर्जन बढी होटल तथा अपार्टमेन्टमा लगानी गरेर आफूलाई नेपाली डायस्पोराको एक सफल र अग्रणी पर्यटन व्यवसायीका रूपमा चिनाएका छन् । एउटा सामान्य किसान परिवारमा जन्मिएर स्थापित र जस्तोसुकै व्यवसायीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने छवि उनले निर्माण गरेका छन्।
मस्कोमा व्यवसाय गरिरहेका लामिछाने एकदिन जर्मनी पुगे । जर्मनीमा होटल व्यवसाय गरिरहेका कुमार पन्तसँग भेट भयो । कुमारले उनलाई होटलमा मिलेर काम गर्ने प्रस्ताव गरे । अरूको होटलमा काम गर्दै गरेर आफ्नै होटल खोलेका कुमार पन्तको सक्रियता र मिहिनेत देखेर जीवाको मन छोयो । र, उनीसँगै मिलेर होटलमा लगानी गर्ने प्रस्ताव स्वीकार गरे । उनी सन् २००० ताका सानिमा कम्पनीसँग जोडिसकेका थिए ।
सन् २०१२ कुमार पन्तसँग समन्वय गरेर जीवाले होटलमा लगानीको औपचारिक यात्रा तय गरे । दुवैजना मिलेर फ्र्यांकफर्टमा होस्टर हफ होटल सञ्चालनमा ल्याए । जुन जीवाको पहिलो होटल थियो । उनीहरूले दोस्रो होटल गोथे खोले । अहिले उनले एकल र संयुक्त लगानी गरेर ट्रिप इन होटलका चेनबाट गोथे, एभरेष्ट, स्काइलाइन लगायत चार दर्जन बढी होटल सञ्चालन गरिरहेका छन् । उनले जर्मनीका विभिन्न सहरमा ट्रिप इन चेनका होटलहरू विस्तार गर्दै हस्पिटालिटी क्षेत्रमा आफूलाई अब्बल नेतृत्वका रूपमा परिचित गराउँदै आएका छन् ।
सानिमा ग्रुपमा आवद्धता
लामिछाने सन् २००० ताका सानिमा ग्रुपसँग आवद्ध भए । सन् २००३ मा उनले कान्तिपुर टेलिभिजनमा लगानी गरे । त्यतिबेला उनी कान्तिपुर टिभीको प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । सानिमा ग्रुपमा संस्थागत लगानीकर्ताको रूपमा साझेदारी गरेका उनले सानीमा बैंकको अध्यक्षको जिम्मेवारी समाल्दै लामो समय सञ्चालक समितिको नेतृत्व गरे । उनले सानिमा ग्रुप अन्तर्गतका सानिमा बैंक, सानिमा हाइड्रो एण्ड इन्जिनियरिङ, सानिमा जीआईसी इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा मिडिल तमोर जलविद्युत, स्वेतगंगा हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविदुत आयोजना र तल्लो लिखु जलविद्युत आयोजना लगायत दर्जनौं कम्पनीमा लगानी गरेका छन् ।
लामिछानेले होटल रामाडा, मेडिकेयर हस्पिटलमा पनि लगानी गरेका छन् । उनले नेपालमा सम्भावना भएका क्षेत्रमा लगानी विस्तार गर्दै आएका छन् । उनी सानिमा बैंकका साथै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, हिमालयन पावर पाटर्नर लगायतमा केही कम्पनीको अध्यक्षको जिम्मेवारीसहित नेतृत्वदाही भूमिकामा देखिए पनि धेरै कम्पनीमा उनी लगानीकर्ताको भूमिकामा रहेको पाइन्छ । उनले विदेशमा लगानी गरेर प्राप्त गरेको प्रतिफल नेपालमा लगानी गर्दै देशको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा दिएका छन् ।

नेपाली डायस्पोरा एकीकृत गर्ने अभियन्ता
जीवा लामिछानेले व्यवसायमा मात्रै व्यस्त भएनन्, उनी नेपाली डायस्पोरालाई एकीकृत गर्ने र उनीहरूलाई व्यवसायमा जोड्ने पुलका रूपमा पनि काम गरे । सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएन) को उनी सन् २०११ मा अध्यक्ष पनि बने । एनआरएनए स्थापना हुनुमा उपेन्द्र महतो, भीम उदास, राम थापा लगायत जीवा लामिछानेको अहम भूमिका छ ।
विश्वभरि छरिएका नेपालीहरूलाई संगठित बनाउन लामिछानेले ठूलो भूमिका खेले । अहिले यो संघ विश्वका ९० वटा राष्ट्रहरूमा फैलिएको छ । जुनसुकै देशमा लगानी विस्तार गरे पनि त्यहाँबाट आएको प्रतिफलले उनी नेपालमा लगानी गर्छन् । नेपाली डायस्पोरालाई नेपालमै लगानी गर्न उत्प्रेरणा जगाउँछन् । नेपाली डायस्पोरा र उनी आफैले पनि एनआरएन नेपाल डेभलपमेन्ट फण्ड, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पूर्वाधार बैंक लगायतमा लगानी गरेका छन् ।
‘अब नेपालीहरूले पनि विदेशी ठूल्ठूला कम्पनीहरू हाँक्न सक्ने क्षमता राख्छन्, रियल स्टेट, होटल सञ्चालन र आईटी कम्पनीमा लगानी गरेर राम्रो सम्भावनाको बाटो नेपालीले देखाइरहेका छन्,’ उनी भन्छन्, ‘नेपाली डायस्पोरा ठूल्ठूला काम गर्न सक्छ भन्ने प्रमाणित पनि भएको छ ।’
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनै लामिछानेको सक्रियता र व्यावसायिक क्षमताको कदर गर्दै आर्थिक सल्लाहकार परिषद्को सदस्य बनाएका थिए भने पछि केपी शर्मा ओली प्रधानमन्त्री बन्दा पनि उनी सल्लाहकार परिषदको सदस्यमा नियुक्त भएका थिए ।
व्यवसायसँगै लामिछाने समाज सेवामा पनि सक्रिय छन् । समाज सेवाका लागि उनले आफ्नो बुवाआमाको नाममा खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान नामक सामाजिक संस्था सञ्चालन गरेर काम गर्दै आएका छन् । ‘सफल हुनका लागि इमानदारिता र लगनशीलता चाहिन्छ, व्यवसायमा पुँजीभन्दा पनि विश्वासको पुँजी आवश्यक हुन्छ, लगनशील भएर काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘नेपालमा पर्यटन, ऊर्जा, कृषि र र्आइटीमा अथाह सम्भावना छ, यो अवसरलाई हामीले क्यास गर्नुपर्छ।’
नेपालमा हिमाल धेरै रहेको तर हामी हामी परम्परागत पर्यटनमै अल्झिएको लामिछानेको बुझाइ छ । वाटर एडभेन्चर, स्नो एडभेन्चरलाई अगाडि बढाएर काम गर्न सकेमा पर्यटक पनि बढ्न सक्ने उनी बताउँछन् । नेपालमा डेटा सेन्टरको अपार सम्भावना रहेको बताउँदै सफ्टवेयर उत्पादन गरेर निर्यात गर्न सकेमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गर्न सकिने उनको तर्क छ ।
‘रुचिलाई पहिचान गरेर त्यसलाई सम्भव तुल्याउन अगाडि बढ्नुपर्छ, इनोभेटिभ काम गर्नुपर्छ, त्यसले रोजगारी पनि सिर्जना गर्छ,’ उनले भने ।
साहित्य लेखन पनि लामिछानेको रुचिको विषय हो । अन्टार्कटिकासहित विश्वका सातैवटा महादेश र १३० भन्दा बढी देश घुमेका उनले ‘अक्षत अन्टार्कटिका’, ‘सरसर्ती संसार’ र ‘देश देशावर’सहित तीनवटा किताब लेखेर प्रकाशनमा ल्याएका छन् । यात्रा संस्मरणमा उनी उत्कृष्ट लेखकको रूपमा दरिएका छन् । व्यवसाय र साहित्यमा गरेको योगदानका कदर गर्दै नेपाल सरकारले उनलाई कीर्तिमय राष्ट्रदीप र प्रवल जनसेवाश्री पदकबाट सम्मानित पनि गरेको छ । अरूको अहित हुने, अरूलाई दुःखी बनाउने कामबाट जोगिन सधैं सचेत हुँदै निष्ठापूर्वक व्यवसाय गर्ने लामिछानेको जीवनी वास्तवमा नै धेरैका लागि अनुकरणीय छ ।
जीवाकै शब्दहरू :
म पढाइले सिभिल इञ्जिनियर हुँ । ३५ वर्षदेखि व्यवसायमा छु । मस्कोमा हुँदा विद्युतीय सामानको व्यापारमा थियौं । अहिले नेपालमा विगत २५ वर्षदेखि सानिमा ग्रुपमार्फत व्यवसाय गरिरहेको छु । विदेशमा पनि पर्यटन क्षेत्रमा आवद्ध छु । म पहिलो पुस्ताको डायस्पोरा हो । हामीले सपना देख्यौं भने पनि नेपालकै देख्छौं । हामी जति पनि लगानी गरे पनि नेपालमै गर्न चाहन्छौं । नेपालमा पर्यटन, कृषि, पूर्वाधार र जलविद्युतमा ठूलो सम्भावना छ । प्रतिफल पनि विदेशको तुलनामा राम्रो छ । म नेपालमा गरेको लगानीको प्रतिफलप्रति सन्तुष्ट छु ।
हाम्रो समुदायमा व्यवसायीलाई हेर्ने नजरिया बेग्लै छ, जुन दुर्भाग्य हो । विकसित मुलुक तथा खुला बजार अर्थतन्त्र भएका देशमा निजी क्षेत्रले ठूलो टेवा पुन्याएका छन्, रोजगारी सिर्जना गरेका छन् । निजी क्षेत्रलाई सरकारले हेर्ने नजर र दृष्टिकोण राम्रो छ । तर, नेपालमा निजी क्षेत्रले नाफा मात्रै खोज्छ भन्ने भाष्य सिर्जना गरिएको छ । राज्यको काम सहज नीति बनाउने र मनिटरिङ गर्ने हो। जति देशमा राम्रो विकास भएको छ, उनीहरूले खुला बजार अर्थतन्त्र अपनाएका छन् । राज्यको उपस्थिति चाहिन्छ ।
तर, निजी क्षेत्रलाई प्रमोट गरेर अगाडि बढ्यो भने त्यसको फाइदा जनता र सरकारले पनि पाउँछ । अहिले भारत तेस्रो ठूलो अर्थतन्त्र भएको देश बन्दैछ, त्यो निजी क्षेत्रको कारणले नै हो । व्यवसाय भावनाको आधारमा गरिँदैन । विदेशमा हुन सक्ने काम छिट्टै हुन्छन् । तर, नेपालमा हुने काम गर्न पनि लामो समय लाग्छ । प्रशासनिक संयन्त्रमा ठूलो अवरोध सामना गर्नुपर्छ ।
हामीले गैरआवासीय नेपाली संघको अभियान सन् २००३ मा सुरू गरेका थियौं । अहिले विश्वभर नेपाली छन् । संख्यात्मकभन्दा पनि गुणात्मक रूपमा फैलिएको छ । यसलाई संगठित रूपले अगाडि बढाउन सकियो भने देशको लागि केही गर्न सकिन्छ । सामूहिक लगानीको अवधारणा अगाडि बढाइरहेका छौं । धेरै ग्रुप मिलेर सामूहिक लगानी गरेर काम पनि गरिरहेका छन्, यसमा मलाई संस्थापक भएको हिसाबले पनि गर्व छ । व्यवसायमा सफल हुनका लागि कुनै फर्मुला तथा मन्त्र हुँदैन, लगनशीलता, मिहिनेत तथा पारदर्शी भयो भने काम गर्न सकिन्छ । हामीले अहिले ट्रिप इन होटल मार्फत जर्मनी, बेल्जियम र स्विट्जरल्याण्डमा होटल सञ्चालन गरिरहेका छौं ।