३६ घण्टापछि खुल्यो कागबेनी-कोरला सडक

काठमाडौं । मुस्ताङको कोरला नाका जोड्ने कागबेनी-चैले सडक आइतबारदेखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकोमा कागबेनी-कोरला सीधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी-कोरला सडक सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण कागबेनी-कोरला खण्ड अन्तर्गत कागबेनीदेखि चैलेसम्मको करिब १२ किलोमिटर दूरी सडकको विभिन्न स्थानमा सडक भत्किएको थियो । वर्षाका कारण कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सवारीसाधन बारागुङ-३ को छुसाङ र चैलेमा थन्किएका थिए ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षाकर्मी, आयोजना लगायतको सहयोगमा कागबेनी-कोरला सीधा यातायात सेवा सञ्चालनमा ल्याउन सफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । कागबेनीदेखि २ किलोमिटर उत्तरको कोरला सडकमा साबिक सडकको विकल्प तत्कालका लागि करिब १०० मिटर बढी सडक डाइभर्सन निर्माण गरिएको छ । 

अवरुद्ध चैले सडकको भासिएको स्थानमा तत्कालका लागि उपकरण प्रयोग गरी माटो फिलिङ गरेर सडक सञ्चालनमा ल्याइएको बारागुङ-१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । अन्य स-साना स्थानका सडकमा पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको हो । कागबेनी-कोरला सडक पूर्ण रुपमा खुलेसँगै कोरला नाका पुगेर फर्किँदा बाटोमै थन्किएका झन्डै १०० सवारी साधन गन्तव्यतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय छुसाङले जनाएको छ ।

बारागुङ मुक्तिक्षेत्र-३ का वडाध्यक्ष विनोद गुरुङले कागबेनी-कोरला सडक अस्थायी कामचलाउका रुपमा सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार कोरला सडक पूर्ण रुपमा खुलाउन आयोजनाको समन्वयमा ४ उपकरण एकैसाथ परिचालन गरिएको थियो । अर्का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले तत्कालका लागि हलुका सवारीसाधन मात्रै आउजाउ गर्नसक्ने बनाइएको ठूलो माल बाहक सवारीसाधनले कोरला नाका आउजाउ गर्न समस्या हुने बताए । जोमसोम-कागबेनी सडक भने मर्मतपछि शनिबारदेखि सञ्चालनमा आएको थियो ।

Share News