नास आइटी एक्स्पो किन ? आयोजकले खुलायो यी चार उद्देश्य

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले यही कात्तिक २१ र २२ गते ‘नास आईटी एक्सपो २०२५’ आयोजना गर्दैछ । 

कम्पनीले पहिलोपटक यस्तो प्रकारको एक्स्पोको आयोजना गर्न लागेको हो । एक्स्पो ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने आयोजकले जानकारी दिएको छ । आयोजकले एक्स्पो गर्नुको मुख्य चार कारण खुलाएको छ । 

आयोजक कम्पनी नास आइटीका महासचिव एलिशा श्रेष्ठले नेपालमा धेरैलाई प्रविधिमा के–कस्ता विकास भइरहेको छ भन्ने थाहा नभएको र त्यसबारे प्रदर्शन गर्नुपर्ने समय भएको कारण भएको औंल्याइन् । 

‘नेपालमा कस्तोकस्ता प्रडक्टहरूको विकास भइरहेको छ, त्यसबारे जानकारी दिनको लागि पनि यो खालको एक्स्पो आवश्यक छ,’ उनले भनिन् । 

दोस्रो उद्देश्य बिजनेस नेटवर्किङ र डिल्सहरु इनह्यान्स गर्नको लागि यो एक्स्पो आयोजना गर्न लागिएको हो । 

महासचिव श्रेष्ठले भनिन्, ‘नेपालका आइटी कम्पनीहरूले अहिलेसम्म बिजनेसमा गरेको ग्रोथ अग्रानिक हो, उहाँहरूले साथीभाइ, आफन्त र विदेशमा चिनजान भएकाहरूबाट बिजनेस बढाइरहनुभएको छ, उहाँहरूको नेटवर्किङ बढाउनको लागि एक्स्पो गर्नुको अर्को उद्देश्य हो ।’ 

त्यस्तै, सरकारले लिएको आइटी डिकेट २०२४–२०३३ को मिट पूरा गर्नको लागि एक्सपोजर दिनको लागि पनि यो एक्स्पोको आयोजना गर्न लागेको आयोजकको भनाइ छ । 

नेपालमा डोमेस्टिक मार्केटको भिजिविलिटी ग्याप छ, त्यो ग्याप भर्नको लागि यो एक्स्पोले केही हदसम्म मद्दत पुग्ने आयोजकको विश्वास छ । 

महासचिव श्रेष्ठका अनुसार दुई दिनको एक्सपोमा सरकारका विभिन्न अंग, बैंक तथा वित्तीय संस्था, उद्योग, कर्पोरेट संस्थालाई निमन्त्रणा गरिएको र यसबाट कम्पनीहरूले प्रत्यक्ष बिजनेस गर्न सहयोग पुग्ने छ । नेपालमा दिगो टेक इकोसिस्टमको विकास होस् भनेर पनि यो एक्स्पोको आयोजना गर्न लागिएको आयोजकको जनाएको छ ।

३५ कम्पनीहरू सहभागी 

नास आइटीका अध्यक्ष गौरव पाण्डेले एक्स्पोमा ३५ कम्पनीहरूले सहभागी जनाउने जानकारी दिए । एक्स्पोमा ती कम्पनीहरूले आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शन गर्ने विशेष अवसर प्राप्त गर्नेछन् ।

सहभागी आइटी कम्पनीहरूमा लगपोइन्ट, इमेनेन्स वेएज, बिज सर्भ आइटी, र्यापिड स्वीफ्ट, फोनपे, जब इजी, ट्यालेन्ट कनेक्टस, मन्त्र आइडियाज्, आकाश टेकलगायत छन् । 

‘एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,’ पाण्डेले भने ।

नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले एक्स्पोका लागि आईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्स्पो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ ।

दुई दिनसम्म चल्ने कार्यक्रममा शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवा रहेको छ । त्यस्तै, र्यापिङ, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ । 

कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् । त्यस्तै इन्टरनेट पार्टनरमा डिस हो र मिडिया पार्टनरमा टेक जर्नलिस्ट एशोसिएसन (टिजिएफ) रहेको छ ।

साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्नेछन् । 

एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू आउने छन् । एक्स्पो अवलोकन निःशुल्क गर्न सकिने छ । यसका लागि अनलाइन टिकट बाट लिन सकिने छ ।
 
नेपालका धेरै आइटी कम्पनीहरुले स्वदेशमा मात्रै नभएर विदेशका ठूला कम्पनीहरूलाई सप्टवेयर र आइटी सेवा प्रदान गर्दै आएको छ । विशेगगरी अमेरिका, युरोपियन मुलुक, अस्ट्रेलिया र एसियाका मुलुकहरमा काम गर्दै आएको छ। 

नेपाल सरकारले ‘सूचना प्रविधि दशक २०२४–२०३३’ घोषणा गरिसकेको अवस्थामा नास आइटीले पनि यो क्षेत्रको विकासको लागि भन्दै विभिन्न छलफल र बहस गर्दै आएको जनाएको छ । 

सरकारले घोषणा गरेको सुचना प्रविधि दशकको मूख्य टार्गेट रोजगारी बढाउने नै हो । जसअन्तर्गत पाँच लाखलाई प्रत्यक्ष र १० लाखलाई अप्रत्यक्ष रोजगारी दिने रहेको छ । त्यस्तै, सन् २०३३ सम्मममा २२ अर्ब रुपैयाँ अमेरिकी डलर बराबरको आइटी निर्यात गर्ने लक्ष्य सरकारको रहेको छ । 

Share News