काठमाडौं । पर्वतको सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला-सिल्मी-ठुलीपोखरी-खौला-कार्कीनेटा सडक खण्ड निर्माण व्यवसायीको लापरबाहीले जोखिमपूर्ण बनेको छ ।
पोखरा-बागलुङ राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यो सडकमा दैनिक सयौं सवारीसाधन चल्ने भए पनि समयमा काम नगर्दा यात्रुहरूलाई सास्ती भएको हो । सिल्मी-ठूलीपोखरी सडकको पोखरी घुम्ती, लौकेको उकालोलगायत ठाउँमा रहेको सोलिङका ढुङ्गा उप्काएर अन्यत्र लगिएको तर, उक्त ठाउँमा ग्राभेल लगायतका सामग्री नराख्दा बिरामी तथा विद्यालय जाने विद्यार्थीलाई समस्या भएको हो । सडक समयमा काम नहुँदा ठूलीपोखरी हुँदै दैनिक आवतजावत गर्ने सवारी साधन बाटैमा अलपत्र परेका हुन् ।
वैकल्पिक व्यवस्था नगरी सडक अलपत्र छाड्दा उकालो ठाउँमा हिलोले सवारी साधन जान सकिरहेका छैनन् । सवारीसाधन नियमित नहुँदा विद्यालय जाने विद्यार्थी तथा बिरामीलाई समेत समस्या भएको स्थानीय मिलन पौडेलले जानकारी दिए ।
हिलो हुने समयमा भइरहेको सोलिङ उप्काएर ढुङ्गा लाने तर बाटो नबनाउने गर्दा स्थानीय समस्यामा परेको कुश्मा नगरपालिका-१२ का वडाध्यक्ष झलकप्रसाद रिमालले बताए । वैकल्पिक सडकको उचित व्यवस्थापन तथा मर्मत हुनुपर्नेमा निर्माण व्यवसायीले ढिलासुस्ती गरेको उनको आरोप छ ।
‘हामीले पटकपटक निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गर्न आग्रह गरेका छौँ, तर खासै ध्यान दिइएको छैन । कतिपय समयमा उल्टो गाली गर्ने गरेको छ,’ उनले भने ।
स्थानीय बासिन्दा तथा यातायात व्यवसायी सुरेश केसीका अनुसार सडक बिग्रँदा दैनिक रूपमा कुश्मा, पोखरालगायत ठाउँमा जाने र आउने सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको छ । निर्माण व्यवसायीलाई मर्मतको कुरा उठाउँदा धम्क्याउने गरेका उनले बताए ।
सो सडकको निर्माण र अनुगमनको जिम्मेवारी लिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले यस विषयमा निर्माण पक्षलाई पटकपटक निर्देशन दिएको बताए ।
‘हामीले तत्काल सडक मर्मत गर्न भनिरहेका छौँ तर निर्माण व्यवसायीले अटेरी गर्दा यस्तो समस्या आएको हो, त्यसका लागि स्थानीय जनता र जनप्रतिनिधिले दबाब दिनुपर्छ,’ उनले भने ।
सडकमा सोलिङ भएको भाग उप्किएपछि साना गाडी, मोटरसाइकल र पैदल यात्रुहरू आवतजावत गर्दा दुर्घटनाको जोखिम बढेको छ । स्थानीयले सम्बन्धित निकाय तथा निर्माण कम्पनीलाई तत्काल मर्मत गरी सडक व्यवस्थित बनाउन आग्रह गरेका छन् ।
पूर्वाधार विकास कार्यालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत बजेट ५ करोड ८० लाख रुपैयाँमा ५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको हो । उक्त सडक यस आवमा सकिनुपर्नेमा हालसम्म जम्मा २५ प्रतिशतमात्र काम भएको छ । सडकमा कालोपत्र, ढलान, नाली, टेवा पर्खाल तथा जाली लगाउने कार्य हुने जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ ।