काठमाडौं । सयपत्री हाइड्रोपावरले बैंकको ५० प्रतिशत ऋण चुक्ता गरेको छ । दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि कम्पनीले बैंकबाट लिएको सहवित्तीयकरण कर्जाको ५० प्रतिशत भन्दा बढी रकम भुक्तानी भइसकेको सञ्चालक गोपाल प्रसाद निउरेले जानकारी दिए ।
साथै, ऋण कर्जाको ५० प्रतिशत रकम भुक्तानी भइसकेको हुँदा सह-वित्तीयकरण बैंकहरूमा धितो बन्धक रहेको सेयरधनीहरू र पदाधिकारीहरुको ५० प्रतिशत सेयर फुकुवा गर्ने प्रक्रिया अघि बढाइने उनले बताए ।
उनका अनुसार दरम खोला ‘ए’ जलविद्युत आयोजना निर्माणका लागि सहवित्तीयकरण ऋण कर्जा लिँदा नेपाल बैंक र ग्लोबल आइएमई बैंकमा सबै सेयरधनी र पदाधिकारिहरुको सेयर धितो राखिएको थियो । बन्धक राखिएको सेयर धितो फुकुवाका लागि सह-वित्तीयकरण अगुवा बैंक नेपाल बैंकलाई अनुरोध गरिने उनको भनाइ छ ।
साथै, कम्पनी सञ्चालक समितिको कात्तिक ११ गते बसेको बैठकले बन्धक रहेको सेयर धितो फुकुवाका लागि आवश्यक सम्पूर्ण कार्य गर्न लेखा अधिकृत कृष्ण चालिसेलाई सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने निर्णय गरिएको सञ्चालक निउरेले जानकारी दिए ।
५० जना भन्दा बढी संस्थापक सेयरधनी रहेको कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि विसं २१०५ जेठ १ गतेसम्म बाँकी छ । जलविद्युत आयोजनाको कुल लागत ५३ करोड ४५ लाख ८ हजार रुपैयाँ थियो भने उत्पादन क्षमता २.५ मेगावाट रहेको छ । दरमखोला आयोजनाको सम्पूर्ण संरचना बाग्लुङको ताराखोला गाउँंपालिका-२ र ३ मा रहेको छ ।