काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा राजन विक्रम थापा नियुक्त हुने भएका छन् । डा. गुणाकर भट्ट अनिवार्य अवकाशमा गएसँगै थापा वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा हुन लागेका हुन् । थापा अहिले कायममुकायम कार्यकारी निर्देशक पदमा कार्यरत छन् ।
उनी वि.सं २०५३ मा सहायक पदबाट बैंक प्रवेश गरेका थिए । विसं २०५९ साउन २७ गते सहायक निर्देशक पदमा पदोन्नति भएका थापा एक सातापछि कार्यकारी निर्देशक पदमा बढुवा हुन लागेका हुन् ।
उनी यसै साता राष्ट्र बैंकको ईडीमा पदोन्नति हुनुपर्ने हो । तर, राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल देशबाहिर रहेकाले उनको पदोन्नति एक साता पर धकेलिएको हो । गभर्नर डा. पौडेल कात्तिक १७ गते मात्रै नेपाल फर्किने तालिका छ ।
विसं २०५९ साउन २७ गते सहायक निर्देशक पदमा हालका डेपुटी गभर्नर बम बहादुर मिश्रसहित २० जना राष्ट्र बैंकमा प्रवेश गरेका थिए । सोही समूहमा थापा पनि थिए । तर, आन्तरिक परीक्षा र बढुवा प्रक्रियाबाट मिश्र डेपुटी गभर्नर बनेका छन् भने अन्य केही व्यक्ति कार्यकारी निर्देशक ।
थापासँगै राष्ट्र बैंक प्रवेश गरेका २० जनामध्ये ६ जना सेवा निवृत्त भइसकेका छन् भने ४ जना कार्यकारी निर्देशक र ९ जना निर्देशक गरी १४ जना राष्ट्र बैंकको व्यवस्थापन तहमा छन् ।
थापा समकालीन विषयवस्तुमा लेखहरू लेख्छन् भने साहित्यिक र गीतहरूमा समेत रूची राख्छन् । उनी सामाजिक कार्यमा समेत अग्रसर रूपमा काम गरिरहेका छन् ।