४८ वटा सडक ठेक्का तोड्ने तयारी, ठेकेदारलाई १५ दिनको समय

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले मातहतका ४८ वटा सडक परियोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि निर्माण कार्यमा ढिलाइ र असन्तोषजनक प्रगतिका कारण कार्यालयले ठेकेदारहरुलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत काठमाडौं डिभिजनले मंगलबार सूचना प्रकाशित गर्दै भनेको छ, 'पटक-पटक मौखिक तथा लिखित निर्देशन दिइँदा पनि कार्यप्रगतिमा सुधार नभएको, संशोधित कार्यतालिकाअनुसार काम अघि नबढेको, ठेक्काको म्याद समाप्त भइसकेको तथा ठेक्का लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले ठेक्का अन्त्य गर्नुपर्ने देखिन्छ ।'

कार्यालयले ठेकेदारहरुलाई १५ दिनभित्र ठेक्का किन नतोडिने भन्ने बारे औपचारिक स्पष्टीकरणसहित उपस्थित हुन आग्रह गरेको छ ।

डिभिजनका अनुसार धेरैजसो सडक तथा पुल निर्माण कार्यहरू लामो समयदेखि रोकिएका वा सुस्त गतिमा रहेका छन् । निरन्तर ढिलाइका कारण सार्वजनिक सरोकारका परियोजनाहरू प्रभावित भएको भन्दै कार्यालयले ठेक्का सम्झौताअनुसार कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

यदि तोकिएको समयभित्र ठेकेदारले सन्तोषजनक कारण प्रस्तुत नगरे, ती ठेक्काहरू स्वतः रद्द हुने र नयाँ ठेक्का प्रक्रिया अघि बढाइने बताइएको छ ।

null
 

Share News