काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको समयमा भन्सार जाँचपासका लागि बैंकिङ सेवा सूचना गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । भन्सार विभागको पत्र अनुसार तिहारको भाइटीकाका दिन बाहेक अन्य दिनमा भन्सार जाँच पास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।
व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न माल वस्तुको भन्सार जाँच पास गर्ने प्रयोजनको लागि अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले असोज ३० गते राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।
सोही बमोजिम राष्ट्र बैंकले तिहारको भाइटीकाका दिन (कात्तिक ६ गते) बाहेक तिहार विदाको अरु सबै दिन भन्सार जाँच पास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको हो ।