जेनजी आन्दोलन : २३ अर्ब २२ करोडको बीमा दाबी, डेढ अर्ब भुक्तानी

सम्पत्ति बीमाको हिस्सा बढी

काठमाडाैं। गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट क्षतिग्रस्त सम्पत्तिको बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका हुन् । 

प्राधिकरणका अुनसार आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ ।  १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमाबाट कम्पनीहरुमा २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ । 

तथ्यांकअनुसार कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिब ३ अर्ब ४१ करोड ६ लाख रूपैयाँ रहेको छ ।

बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब  २४ करोड ९१ लाख रूपैयाँ दाबी भुक्तानी भएको छ ।

आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको तथ्यांक प्राधिकरणमा प्राप्त भएको जनाएको छ । 

यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको छ भने दाबी रकम करिव रू. ३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ८७ लाख दाबी भुक्तानी गरेका छन् ।

आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् ।

यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव रू. १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् । अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिव रू. ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिव रू. ५ लाख ५० हजार दाबी भुक्तानी भएको  प्राधिकरणले जनाएकाे छ ।

अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् ।

नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ ।

साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ । बीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीब्रता दिन समेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन छ ।

Share News