इजरायल र हमासबीच गाजा शान्ति सम्झौताको पहिलो चरणमा सहमति, बन्धक र कैदीहरू मुक्त हुने

यो सम्झौताअनुसार करिब २० जना इजरायली बन्धकहरूको सट्टामा झन्डै २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने अपेक्षा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति गाजामा जारी दुई वर्ष लामो युद्ध अन्त्य गर्ने र बन्धकहरूलाई मुक्त गर्ने शान्ति योजनाको पहिलो चरणमा सहमत भएको घोषणा गरेका छन् ।

‘सबै बन्धकहरू छिट्टै मुक्त गरिनेछन् । यो एक बलियो, स्थायी र अनन्त शान्तितर्फको पहिलो कदम हो । सबै पक्षहरूलाई न्यायपूर्ण व्यवहार गरिनेछ,’ ट्रम्पले ‘ट्रुथ सोसल’मा लेखे ।

यस प्रारम्भिक सम्झौताको इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले पुष्टि गरेको छ ।

कतारी प्रधानमन्त्रीका प्रवक्ता माजिद अल अन्सारीले एक्स (पूरानो ट्वीटर) मा लेखेका छन् कि गाजा युद्धविराम सम्झौताका पहिलो चरण लागू गर्ने सबै सर्त र संयन्त्रमा सहमति भएको छ । जसले युद्ध रोक्ने, इजरायली बन्धक र प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने र सहयोग सामाग्री गाजामा प्रवेश गर्न दिनेछ । थप विवरण पछि घोषणा गरिने उनले बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई धन्यवाद दिँदै एक्समा लेखेका छन्, ‘योजनाको पहिलो चरण अनुमोदनसँगै हाम्रा सबै बन्धकहरू घर ल्याइनेछन् । यो इजरायलका लागि कूटनीतिक सफलता र राष्ट्रिय तथा नैतिक विजय हो ।’

रोयटर्सका अनुसार इजरायली सरकारका प्रवक्ताले शनिबारदेखि बन्धक मुक्त गर्ने प्रक्रिया सुरु हुने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘बन्धकहरू सम्भवतः सोमबारसम्म मुक्त हुने अपेक्षा छ ।’

हमासले पनि छुट्टै वक्तव्य जारी गर्दै विवरण पुष्टि गरेको छ । ‘हामी कतार, इजिप्ट र टर्कीका मध्यस्थ दाजुभाइहरूको प्रयासको उच्च प्रशंसा गर्छौं । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि कदर गर्छौं, जसले युद्धको स्थायी अन्त्य र गाजाबाट इजरायली कब्जा फिर्ता ल्याउन प्रयासरत छन्,’ वक्तव्यमा भनिएको छ ।

तर अझै केही विवादास्पद विषयहरूमा कुनै प्रगति भएको छैन, जस्तै राष्ट्रपति ट्रम्पले माग गरेअनुसार हमासले आफ्नो सशस्त्र संरचना विघटन गर्ने वा युद्धग्रस्त गाजाको प्रशासन कसरी सञ्चालन हुनेछ भन्ने विषय ।

इजिप्टमा भएको केही दिनको वार्तापछि भएको यो सम्झौताअनुसार करिब २० जना इजरायली बन्धकहरूको सट्टामा झन्डै २ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिने अपेक्षा गरिएको छ । ट्रम्पले यस विकासप्रति आशावादी देखिँदै केही दिनभित्रै मध्यपूर्व भ्रमण गर्ने संकेत दिएका थिए ।

गत महिना ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाअनुसार गाजामा शान्ति ल्याउन ‘सशस्त्रीकरण अन्त्य गर्ने प्रक्रिया’ सुरु गरिने उल्लेख थियो, जसअन्तर्गत हतियारहरू स्थायी रूपमा निष्क्रिय गरिनेछ ।

योजनाले गाजाको शासन ‘अस्थायी, प्राविधिक र गैरराजनीतिक प्यालेस्टिनी समितिद्वारा’ सञ्चालन गरिने प्रस्ताव गरेको छ, जसले गाजाका जनताका लागि दैनिक प्रशासनिक सेवा र नगरपालिका व्यवस्थापन हेर्नेछ ।

गाजा युद्ध सन् २०२३ को अक्टोबरमा सुरु भएको थियो, जब हमास अतिवादीहरूले इजरायलमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या गरेका थिए । त्यसपछि इजरायलको प्रतिशोधात्मक अभियानले ६७ हजारभन्दा बढी मानिसको ज्यान लिएको छ, गाजाको ठूलो भाग ध्वस्त पारेको छ र सम्पूर्ण मध्यपूर्वलाई संकटमा पारेको छ ।

Share News