काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौं महानगरपालिका-२६, मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलस्थित केटीएम.ओम मनि एक्सचेन्ज प्रालिको लाइसेन्स रद्द गरेको जनाएको छ ।
यी दुईवटै मनिचेञ्जर कम्पनीले म्याद समाप्त भएको मितिले ३ महिनाभित्र नवीकरण गर्न नआएपछि रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
‘मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो,’ राष्ट्रले जारी गरेको सूचनामा उल्लेख छ ।