काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले राष्ट्र र समुदायका लागि आवश्यक परेको हरेक समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देशभरका सार्वजनिक तथा सरकारी भौतिक संरचनामा आगजनी र तोडफोड हुँदा भएको ठूलो क्षतिपछि नेपाल सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ ।
राष्ट्र पुनर्निर्माणको यस महान अभियानमा सहभागी हुँदै सूर्यज्योति लाइफले उक्त कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगको चेक कम्पनीका सञ्चालक चुडामणि देवकोटा र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले मंगलबार अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेका छन् ।
कम्पनीले विगतमा पनि विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रका लागि निरन्तर सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको छ । प्रमुख कार्यकारी अधिकृत खत्रीले हाल गरिएको यो योगदानले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता राष्ट्रिय अभियानमा सूर्यज्योति लाइफ सधैं अग्रसर रहने प्रतिबद्धता जनाएका छन् ।