काठमाडौं । असोज १८ र १९ गतेको वर्षापछिको रोसी खोलाको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनः अस्थायी सडक-डाइभर्सन बनाउन सुरु गरिएको छ । २ दिनको बाढीपछि रोसी खोलामा पानीको बहाव कम हुँदै गएपछि आइतबारदेखि डाइभर्सन बनाउन सुरु गरिएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनः डाइभर्सन निर्माण गर्न थालेको हो । गत वर्षको असोजमा बाढीपहिरोबाट क्षतिग्रस्त सोही क्षेत्रको विभिन्न स्थानमा करिब आठ किलोमिटर सडक डाइभर्सन गरी अस्थायी रुपमा सञ्चालन गर्दै आइएको थियो ।
सोही क्षेत्रको सडक खण्ड शनिबार र आइतबारको बाढी पहिरोले पुनः क्षतिग्रस्त बनाउँदै बगाएको थियो ।
राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडाको एक स्थान तथा सिन्धुली तर्फको अन्य ३/४ स्थानबाट अस्थायी सडक बनाउन सुरु गरिने कार्यालयका सूचना अधिकारी इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिए। उनका अनुसार रोसी खोलाको किनारैकिनार सडक लैजानुपर्ने तथा सडकको कुनै अवशेष नै नरहेकाले पानीको सतहभन्दा उचाइमा डाइभर्सन पुनः निर्माण गरिनेछ ।
शनिबार र आइतबारको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत सिन्धुली तर्फबाट पनि सोमबारदेखि नै पुनः डाइभर्सन बनाउन लागिएको छ । सिन्धुलीको नेपालथोकबाट डाइभर्सन बनाउन सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए ।
उनका अनुसार सिन्धुली स्थित डिभिजन सडक कार्यालय खाल्टेले बिपी राजमार्गको नेपालथोकतर्फबाट हाल दुई वटा एस्काभेटर प्रयोग गरेर डाइभर्सन बनाउन सुरु गरिएको हो ।
सिन्धुलीबाट काभ्रेपलाञ्चोक तर्फको नमोबुद्धको चौकी डाँडासम्मको विभिन्न स्थानमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा उक्त राजमार्ग अवरुद्ध भएको हो । हाल वैकल्पिक मार्गका रुपमा सवारीसाधन खुर्कोट-मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली-हेटौंडा हुँदै काठमाडौं आवतजावत भइरहेका छन् ।
बीपी राजमार्ग अन्तर्गत चौकीडाँडा, घुमाउने, मम्ती लगायतका क्षेत्रमा रोसी खोलाले राजमार्ग कटान गरेका कारण पैदल यात्रासमेत गर्नसक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
कार्यालय प्रमुख कोमल शाहका अनुसार शनिबार साँझदेखि रोसी खोला तथा मङ्गलटार खोलाको बाढीले काम सुरु गरेपछि करिब दर्जन स्थानमा सडकमा लेदो जमेको तथा सडक बगाउँदा पिप्ले र बोक्से कुनामा हिँड्ने बाटोसमेत छैन ।
सडक कटान गरेपछि फसेका करिब तीन दर्जन सवारीसाधनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मङ्गलटार तथा सुरक्षित स्थानमा राखिएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले शनिबारदेखि बीपी राजमार्गमा तीन दिन सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरेको थियो । शुक्रबार देखिको निरन्तरको वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा लेदाेसहितको साना साना पहिरोका कारण थप जोखिम हुन नदिन ट्राफिक प्रहरीले शनिबार बिहानैदेखि प्रवेशमार्गस्थल धुलिखेल तथा काभ्रेभञ्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारीसाधन होल्ड सवारी साधन ‘होल्ड’ गरिएको थियो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं यातायातका साधन आवतजावत हुने गर्छन् ।