म्याग्दीको धारापानी-झिनडाडा सडक कालोपत्र गरिदैं, ५८ प्रतिशत भौतिक प्रगति

काठमाडौं । एक दशकअघि मार्ग खुलेको म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाडा खण्डको सडक स्तरोन्नतिले गति लिएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडक अन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो ।

आर्थिक वर्ष २०७०/७१ मा मार्ग खुले पनि अहिले आएर स्तरोन्नति सुरु गरिएको धवलागिरी गाउँपालिका-७ का अध्यक्ष अशोक खत्रीले बताए । हाल धारापानी र ताकम गाउँमा पर्ने सडक पक्की बनाउने गरी काम भइरहेको उनको भनाइ छ ।

धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाको ५ वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । ४ किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

कार्यालयका प्रमुख बिष्णुप्रसाद पौडेलले २ वर्षको ठेक्का अवधि भएको योजनाको हालसम्म ५८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । ८ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुगेको सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ ।

बर्खा याममा पनि सडक निर्माण भएको थियो । यो सडक हाल ४ देखि ५ मिटर फराकिलो छ । म्याग्दीदेखि ढोरपाटन हुँदै पुर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने बनाइएको छ ।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा १ अर्ब रुपैयाँ बजेटको आयोजनाको गत असारमा ठेक्का सम्झौता भएको जानकारी दिए । ​​​​​​

धवलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

Share News