बिदाका दिन पनि सडक तथा पुल निरीक्षणमा निस्किए मन्त्री घिसिङ’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमन गरेका छन् ।

सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भएका मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिए ।

उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने  महत्वपूर्ण सडक खण्डका बिग्रे भत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । 
  
सङ्घीय राजधानी काठमाडौंबाट बीपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आउनुभएका मन्त्री घिसिङले बीपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको कार्य प्रगतिका बारेमा जानकारी लिए । 

बाढी पहिरोलगायतका कारण बिग्रे भत्केका संरचनाहरूको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्की पुलहरूको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरूपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए । 

Share News