काठमाडौं डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो ।
आयोजना प्रमुख रोशन अग्रवालका अनुसार ४ वर्षमा उक्त प्रगति भएको हो । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेसन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० गतेसम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ ।
मालिका गाउँपालिका-७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेसन निर्माण गर्न ४ वर्षअघि ३ अर्ब ५७ करोड रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ४५ वटा ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् ।
म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् ।
४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाटको माथिल्लो ठूलो खोला आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलो खोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् ।