काठमाडौं । नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोलामा आज साँझ ७:३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धैर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।