हुलाकी राजमार्ग निर्माणमा भारतीय एसएसबीको अवरोध

काठमाडौं । भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ । बेलौरी नगरपालिका-८ पचुँइस्थित नेपाल-भारत सीमास्तम्भ नम्बर ३८ नजिक रहेको हुलाकी राजमार्ग सडक खण्डको करिब ७०० मिटर सडक आव २०७३/७४ मा ठेक्का भए पनि भारतीय अवरोधका कारण कार्य अगाडि बढ्न सकेको छैन ।

नगर प्रमुख पोतिलाल चौधरीका अनुसार भारतीय पक्षले इस्ट्रिप नक्साको आधार मान्दै सडक निर्माणको कार्यमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध पुर्याउँदै आएको छ । 

सीमा क्षेत्रभित्र पर्ने सडक भन्दै भारतीय पक्षले अवरोध गर्दै आएको उनले बताए । उनका अनुसार सडक खण्डको दक्षिणतर्फ ५० मिटरदेखि ३०० मिटरसम्म नेपाली जग्गाधनी पुर्जा भएको जमिन नेपालीले वर्षोंदेखि भोगचलन गर्दै आएका छन् । 

सडक निर्माणका लागि आवश्यक पहल गरिदिनका लागि प्रधानमन्त्रीलाई पत्रमार्फत अवगत गराइएको नगर प्रमुख चौधरीको भनाइ छ । 

Share News