काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । यस बारेको जानकारी उत्तर पूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले एक विज्ञप्तिमार्फत् सार्वजनिक गरेको हो ।
अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म करिब २ अर्ब ६८ करोड युआन (अन्दाजी ३ करोड ८० लाख अमेरिकी डलर) बराबरको नगद र सम्पत्ति घुसस्वरुप लिएको प्रमाणित भएको छ ।
फैसलामा भनिएको छ, ‘यस घुस काण्डले राज्य र जनताको हितमा अत्यन्त गम्भीर क्षति पुर्याएको छ, त्यसैले मृत्युदण्डको सजाय आवश्यक ठहरिन्छ ।’
अदालतले भने पनि ताङले आफ्नो अपराध स्वीकार गरी पश्चाताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको हो ।
यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो । सो अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन्।
ताङ रेन्जियानले यसअघि गान्सु प्रान्तका गभर्नर र दक्षिणी स्वायत्त क्षेत्र गुआङ्सीका उपाध्यक्षका रूपमा समेत सेवा गरेका थिए ।
उनको पतन हालैका वर्षमा भ्रष्टाचार अनुसन्धानमा परेका अन्य वरिष्ठ अधिकारी पूर्व रक्षा मन्त्री ली साङ्फु र वेइ फेङ्घेसँगै जोडिएको मानिन्छ । लीलाई पदभार ग्रहण गरेको ७ महिनामै हटाइएको थियो र पछि घुसखोरी लगायतका अपराधका कारण चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको राज्य सञ्चारमाध्यमहरूले जनाएका थिए । अहिले उनका उत्तराधिकारी डोङ जुन पनि भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका छन् ।