काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिना (भदौ) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ४ लाख ९० हजार ३०७ बीमालेख जारी गरेर उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेका हुन् ।
बीमा कम्पनीहरूले संकलन गरेको कुल व्यवसायमा सम्पति बीमाको हिस्सा सबैभन्दा धेरै रहेको छ । दुई महिनामा बीमा कम्पनीहरूले सम्पति बीमामार्फत २ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा सम्पति बीमाको हिस्सा ३०.३२ प्रतिशत रहेको छ ।
विगतमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै हुँदै आएको थियो । पछिल्लो केही समययता भने दोस्रो धेरै व्यापार गर्ने क्षेत्रमा मोटर बीमा रहेको छ । तथ्यांकअनुसार कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २७.८१ प्रतिशत रहेको छ । कम्पनीहरूले दुई महिनाको अवधिमा मोटर बीमामार्फत कुल २ अर्ब ३० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
भदौसम्ममा कम्पनीहरूले इन्जिनियरिङ र ठेक्कातर्फ १ अर्ब ९ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन कुल निर्जीवन बीमा व्यवसायमा १३.२२ प्रतिशत हो । यसैगरी कुल निर्जीवन बीमा व्यवसायमा विविधको हिस्सा १२ प्रतिशत रहेको छ । विविधतर्फ कम्पनीहरूले ९९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
यस्तै बीमा कम्पनीहरूले सामुन्द्रिकतर्फ ५३ करोड ९ लाख रुपैयाँ, हवाईतर्फ ३५ करोड २९ लाख रुपैयाँ, कृषितर्फ ३२ करोड ४२ लाख रुपैयाँ र लघुतर्फ १६ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमाको कुल व्यवसायमा सामुद्रिकको ६.४० प्रतिशत, हवाईको ४.२६ प्रतिशत, पशुपन्छी तथा कृषिको ३.९६ प्रतिशत र लघुको २.०२ प्रतिशत हिस्सा रहेको छ ।
