क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा बीमा क्षेत्रको सामाजिक उत्तरदायित्वको रकम खर्च गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणमा बीमा क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले आइतबार बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० दोस्रो संशोधन गर्दै उक्त निर्देशन जारी गरेको छ ।

बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले सो निर्देशन जारी गरेको हो । 

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० को दफा ४५ को उपदफा (२) को खण्ड (घ) पछि देहायको खण्ड (ङ) थप गरिएको छ प्राधिकरणले जनाएको छ ।

जसमा प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जन प्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्च गरिने उल्लेख छ । 

Share News