जेनजी आनदोलकर्ताले आगजनी गरेपछि गभर्नरका लागि घर खोज्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा.डा. विश्वनाथ पौडलका लागि घर भाडामा लिने भएको छ । गत भदौ २३ गते र भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरुले घरमा आगजनी गरेपछि राष्ट्र बैंकले गभर्नर पौडलका लागि घर भाडामा लिन लागेको हो । 

राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ शंसोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । 

राष्ट्र बैंकमा ३० वर्ष काम गरिसकेका अधिकारले घर सुविधा लिन पाउने सुविधा छ । तर, कुनै पनि अधिकारीले त्यो सुविधा लिएका नलिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । तर, डा. चिरञ्जिवि नेपाल गभर्नर हुँदा घर भाडामा लिएर बसेको उनले बताए । 

राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडलले घर सुविधा लिने सोच बनाएका थिएनन् । तर, जेनजी आन्दोलनका कारण आगजनी भएपछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो । 

‘विगतमा डा. चिरञ्जीवी नेपालको पालामा गभर्नरले आफ्नो निवासमा बस्नलाई उपयुक्त नठानेमा सञ्चालक समितिबाट निर्णय गराएर आवास सुविधा लिन सक्ने नीति छ । सोही अनुसार विगतमा कुनै समस्या नहुँदा पनि डा. नेपालले भाडाको घरमा बस्नु भएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘गभर्नर पौडलले घर सुविधा लिने सोच बनाउनु भएको थिएन । तर, यो दुर्घटनापछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो ।’

राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसिसि स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिन लागिएको हो । 

घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ । 

साथै, २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ । 

‘प्रस्ताव के–कस्तो आउँछ, त्यो सबै बोलपत्र हेरेर मात्रै थाहा पाइन्छ । प्रस्ताव सञ्चालक समितिमा लगिन्छ । विगतमा १ लाखको हाराहारीमा घर भाडामा लिएको थियो । ७/८ वर्ष अगाडिको मूल्य र अहिलेको मूल्य फरक पर्न सक्छ । तर, विवरण पत्रमा उल्लेख भए बमोजिमको प्रस्ताव आएमा मूल्यको विषय पछि नै तोकिन सक्छ,’ स्रोतले भन्यो ।  

Share News