काठमाडौं । प्रतिकूल मौसम र जेनजी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । अनुकूल मौसमसँगै पर्यटकीय याम सुरु भएपछि सञ्चालनमा आएको पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसम र प्रदर्शनको प्रभावका कारण स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको हो ।
सो क्षेत्रमा उडान भर्दै आएका निजी वायु सेवा कम्पनी समिट एयरलाइन्स र तारा एयरलाइन्स कम्पनीले उडान स्थगित गरेकोमा करिब एक महिनापछि समिट एयरको ट्वीनअटर जहाजले नियमित उडान सञ्चालनमा ल्याएको समिट एयरलाइन्सका जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीले जानकारी दिए । प्रतिकूल मौसम र जेनीद्वारा गरिएको प्रदर्शनपछि तीन हप्ता उडान स्थगन गरिएकामा आजदेखि नियमित सेवा सञ्चालनमा ल्याइएको उनले बताए ।
पोखरा-जोमसोम नियमित हवाई सेवा सञ्चालनमा आएसँगै पहिलो दिन समिटका जहाजले दुइवटा उडान भरेका छन् । यहाँ १० भारतीय पर्यटकसहित अन्य तेस्रो मुलुकका २४ जना विदेशी पर्यटक बोकेर सेवा सञ्चालनमा ल्याइएको स्टेसन इन्चार्ज थकालीले जानकारी दिए ।
‘जेनजी प्रदर्शन हुनुअघि पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसमका कारण उडान हुनसकेको थिएन । प्रर्दशनपछि भारतीय सीमानाका बन्द गरिएपछि टिकट बुकिङ गरेका पर्यटकले पनि टिकट रद्द गरेसँगै हवाई सेवा प्रभावित बनेको थियो,’ उनले भने ।
हवाई सेवाका लागि पर्यटक टिकट बुकिङ भइरहेकाले नियमित उडानमा कुनै समस्या नहुने स्टेसन इन्चार्ज थकालीले जनाए ।
‘प्रदर्शनपछि परिस्थिति सामान्य बन्दै जान थालेको छ, विदेशी पर्यटकको बुकिङ पनि भइरहेको छ, अब समिट एयरलाइन्सको जहाजले नियमित सेवा रोक्दैन, यहाँ हवाई पर्यटक बढेपछि उडानसमेत वृद्धि हुँदै जानेछ,’ उनले भने ।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि नियमित सञ्चालनमा आएको उल्लेख गरे । समिट एयरलाइन्सका जहाजले दुई उडान र माउन्टेन वायर फायर तालिम सकिएर फर्किन लागेका स्वदेशी तथा विदेशी सेनालाई लिन नेपाली सेनाको ट्वीनअटर जहाज जोमसोम अवतरण भएका उनले बताए ।
तारा एयरलाइन्सले पनि नियमित सेवा सञ्चालनमा ल्याउने तयारी गरेको जोमसोमस्थित स्टेसन इन्चार्ज सुजन लालचनको भनाइ छ । उनका अनुसार यहाँ तारा एयरलाइन्सले आगामी अक्टोबर १ देखि सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रतिकूल मौसम र जेनजी प्रदर्शनले उत्पन्न परिस्थितिका कारण प्रभावित बनेको पोखरा-जोमसोम हवाई सेवा सञ्चालनमा आएसँगै यहाँका पर्यटन व्यवसायीमा उत्साह थपिएको छ । जोमसोमस्थित होटल मेजस्टीका सञ्चालक निसान तुलाचनले प्रदर्शनका कारण सुस्ताएको यहाँका पर्यटन व्यवसाय हवाई उडान सुरु भएसँगै चलायमान हुने विश्वास व्यक्त गरे ।