काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत मेउलीले मन्त्री घिसिङलाई पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
भेटका क्रममा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको प्रगति, दीर्घकालीन तथा अल्पकालीन सहयोगका सम्भावना, स्विस लगानी तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।
मन्त्री घिसिङले स्विस सरकारलाई नेपालको विकासमा पुर्याइरहेको योगदानप्रति धन्यवाद व्यक्त गर्दै नयाँ सरकारको प्राथमिकता चुनाव सम्पन्न गर्नु, जेनजी आन्दोलनका कारण क्षति पुगेका संरचनाको पुनर्निर्माण, सुशासन प्रवर्द्धन तथा युवामा आशा जगाउनेतर्फ केन्द्रित हुने बताए ।
उनले विद्युतीय सवारी साधन प्रवर्द्धन, घरायसी प्रयोजनमा विद्युत्लाई इन्धनको रुपमा प्रयोग गर्ने प्रोत्साहन, स्विस अनुभवअनुसार सडक यातायातमा सुरुङ प्रविधि प्रयोग, हरित हाइड्रोजन ऊर्जाको प्रवर्द्धन तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्न तालिम सहयोगको आवश्यकता औंल्याए ।
हाल स्विस सहयोगमा साना सिँचाइ कार्यक्रम, पुल निर्माण, सिद्धबाबा सुरुङमा प्राविधिक सहयोग तथा सीपमूलक तालिम सञ्चालन भइरहेका छन् । राजदूत मेउलीले नेपालका ऊर्जा तथा पूर्वाधार निर्माण क्षेत्रमा सहयोग गर्न स्विस सरकार सँधै तयार रहने प्रतिबद्धता व्यक्त गरे ।