सबै सरकारी सम्पत्तिको बीमा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी सम्पत्तिहरुको बीमा गर्ने निर्णय गरेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपश्चात् सिंहदरबारदेखि देशभर रहेका धेरै सरकारी संरचनाहरू ध्वस्त भएसँगै सरकारले यस्तो निर्णय गरेको हो ।

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी सबै सम्पत्तिको बीमा गर्ने निर्णय गरेको अर्थमन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले बताए । 

सरकारी सम्पत्तिको बीमा गर्नुपर्छ भन्ने माग लामो समयदेखि उठ्दै आएपनि सरकारले यसतर्फ ध्यान दिएको थिएन । बीमा प्राधिकरणले सरकारी बीमा गर्नका लागि सरकारसँग पटक पटक छलफल र प्रयास गर्दै आएको थियो । अन्तत: सरकारले सबै सरकारी सम्पत्तिको बीमा गर्ने निर्णय गरेकोमा बीमा कम्पनीहरूले यसलाई सकारात्मक कदमको रुपमा लिएका छन् । 

नेपालमा बेलाबेला घटिरहने भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक र मावनजन्य घटनाहरूबाट सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति हुँदै आएको छ । सरकारी सम्पत्तिमा तेस्रो पक्ष बीमा गरिएपनि सरकारी सम्पति भवनको बीमा गर्ने अभ्यास यसअघि थिएन ।    

Share News