काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको विषयमा अरब र इस्लामिक देशका नेताहरूसँग बैठक गरेका छन् । ह्वाइट हाउसले उक्त बैठकको भिडियो सार्वजनिक गरेको छ।
भिडियोमा ट्रम्प सबै नेताहरूलाई सम्बोधन गर्दै गरेका देखिन्छन् । उनले भनेका छन्, ‘यो बैठक निकै महत्त्वपूर्ण छ । हामी गाजामा युद्ध अन्त्य गर्न चाहन्छौं । सायद हामी यसलाई अहिले नै अन्त्य गरौं ।’
पाकिस्तानको प्रधानमन्त्री कार्यालयले पनि यस बैठकबारे जानकारी दिएको छ । पीएमओले जनाएको छ, ‘प्रधानमन्त्री शहबाज शरीफले न्युयोर्कमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका अमिर शेख तमीम बिन हमाद अल(थानीले आयोजना गरेको अरब–इस्लामिक नेताहरूको बैठकमा सहभागिता जनाए ।’
यस बैठकपछि शहबाज शरीफ र ट्रम्पबीच अनौपचारिक कुराकानी पनि भएको थियो । यसको भिडियो पाकिस्तानी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार ट्रम्पसँगको उक्त बैठकमा आठ वटा अरब र इस्लामिक देशका नेताहरू सहभागी भएका थिए ।