मन्त्री घिसिङ र चिनियाँ राजदूतबीच भेटवार्ता, सडक र ऊर्जा क्षेत्रमा सहकार्यबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा राजदूत सोङले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै, नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, निर्माण व्यवसायीमार्फत सञ्चालन भइरहेका आयोजनाको प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहयोगमा सञ्चालित आयोजनाको अवस्था र लगानीलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री घिसिङले काठमाडौं-कोदारी (अरनिको) र स्याप्रुबेंसी-रसुवागढी सडकलाई नेपाल-चीन जोड्ने महत्वपूर्ण र संवेदनशील मार्गका रूपमा उल्लेख गर्दै पहिरो र कमजोर भौगोलिक अवस्थाका कारण जोखिम बढेकाले चिनियाँ प्रविधि प्रयोग गरी स्थायी समाधानका लागि सहयोग गर्न आग्रह गरे ।

उनले काठमाडौं उपत्यका चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन अगाडि बढाउन आग्रह गरे । साथै, चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण असन्तोषजनक रहेको भन्दै नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक विस्तारलाई गतिशील बनाउन सहयोग मागे ।

राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्न चीन सँधै तयार रहेको उल्लेख गरेका थिए । भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, विभागीय प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालयका उपसचिव मनहरी दङ्गाललगायतको सहभागिता थियो ।

Share News